पोल र रुख बीचमै छोडेर बाटो पिच !

तुलसीपुर । केही दिनयता घोराही–१० को धोबाघाट–स्यानीगाउँ जोड्ने सडकको स्तरोन्नतिको काम भयो । मंगलबारदेखि पिच गर्ने काम हुँदैछ । सडकको अवस्था हेर्दा भने स्तरोन्नति होइन, झारा टार्ने काम भइरहेको जस्तो देखिन्छ । नौ मिटरको बाटो पिच हुँदैछ तर बाटोको बीचमा बिजुलीको पोल छ । गलतढंगले बाटो पिचको काम अघि बढ्दा पनि कुनै पनि निकायको ध्यान पुगेको छैन ।

अझ आश्चर्यको विषय त के छ भने त्यही बाटो प्रयोग गर्ने स्थानीयहरु पनि मौन छन् । त्यहाँको अवस्था हेर्दा पिच हुन थालेको बाटोको काम रोकिन्छ कि भन्ने डरले स्थानीयहरु नबोलेको देखिन्छ भने पोल सार्दा आफ्नो घरतर्फ सर्ने हो कि भन्ने डरले पोल आसपास घर भएकाहरु पनि चुपचाप छन् ।

घोराही–१० बडहरा–धैरेनी हुँदै हापुर–रक्षाचौर सडकखण्डमा जोडिने बाटोको अवस्था पनि त्यस्तै छ । अहिले यो बाटो निर्माणको काम अघि बढेको छ । नाला कटान र ग्रावेल बिछ्याउने काम भइसकेको छ तर सडकको बीचमा रहेका पोल सारिएका छैनन् । त्यस्तै घोराही–१० कै सांैडिकुलाबाट घोराही–८ को सांैडी जोड्ने सडक गतवर्ष पिच भइसकेको छ । सडकको बीचमा रहेको पोल हालसम्म नसारिएको स्थानीय राजन न्यौपाने बताउनुहुन्छ । ‘विकासका नाममा आलटालको काम गर्नु त भएन नि ?  बीच सडककै पोल नहटाएर पिच गर्दा दुर्घटनाको जोखिम हुन्छ भन्ने कुरा थाहा हुँदैन र ?  यस्ता कुरामा स्थानीयवासी पनि सजग हुन जरुरी छ’– उहाँले भन्नुभयो– ‘यसरी हचुवाको भरमा गरिने विकास भनेको राज्यको ढुकुटीको दुरुपयोग मात्रै हो । बाटो बनाउने बजेट विनियोजन हुँदा पोल हटाउने बजेट कसले रोक्छ, किन रोकिन्छ ?  स्टिमेट गर्ने इञ्जिनियरलाई यत्ति कुरा जानकारी हुँदैन ? ’

शुरुमा बजेट आउँदा पोल हटाउने स्टिमेट भएको थिएन । पछि विद्युतबाट प्रतिनिधि बोलाएर स्टिमेट गरियो तर विद्युत कार्यालय घोराहीले काममा ढिलासुस्ती गरेका कारण पोल नसारेर काम अघि बढाएको धोबाघाट–स्यानीगाउँ जोड्ने सडकको स्तरोन्नति उपभोक्ता समितिका अध्यक्ष फातिराम थारुले बताउनुभयो । ‘बाटोमा पोल परेपछि विद्युत कार्यालय घोराही पुगेर हटाइदिन आग्रह ग¥यौं । पोल हटाउन लाग्ने खर्च पाएपछि मात्रै विद्युतले पोल सार्ने उहाँले बताउनुभयो । हामीले स्टिमेट पनि गरायौं र विद्युतबाट स्टिमेट भएअनुसारको पैसा लगेर हामी विद्युत कार्यालय गयौं’– उहाँले भन्नुभयो– ‘तर विद्युत कार्यालयबाट अझै ५÷६ महिना लाग्छ भन्ने जवाफ आयो । चाँडै गर्ने भए नेपालगञ्ज जानुस् त्यसपछि बुटवल जानुपर्छ अनि बल्ल प्रक्रिया पुग्छ अनि बल्ल काम शुरु हुन्छ भन्नुभयो । ५÷६ महिना कसरी कुर्नु ?  उहाँहरुले भनेअनुसारको पैसा जम्मा गरेपछि तत्काल काम शुरु गर्नुपर्ने हैन ? ’

धोवाघाट–स्यानीगाउँ जोड्ने सडक प्रदेश सरकारको बजेटबाट बन्दैछ । त्यसको स्टिमेट कसरी भएको छ, त्यो प्रदेशकै कुरा हो । बडहरा–धैरेनी हुँदै हापुर–रक्षाचौर सडकमा जोडिने बाटो र सौंडिकुलाबाट सांैडी जोड्ने सडक घोराही उपमहानगरपालिकाको तर्फबाट बनेको पालिका प्रमुख नरुलाल चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस