अब भ्रष्टाचार बिरुद्धका थप ठूला एक्सन हुनेछन्, कतिखेर एम्बुसमा परेर मारिने हो टुंगो छैन : प्रधानमन्त्री

काठमाडौं, जेठ १३ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा अझै ठूलो र शक्तिशाली कार्बाही गर्ने संकेत दिएका छन् ।

प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचार बिरुद्धको लँडाईमा हाम फाल्दा जनयुद्ध जस्तै अनूभूति भएको टिप्पणी पनि गरे । यो लडाइँ पनि जनयुद्ध जस्तै कतिबेला घेराबन्दीमा परिने हो कतिबेला दुश्मनबाट मारिने हो भन्ने ठेगान नभएको प्रचण्डको भनाई छ ।

‘बेथिति, विकृतिको विरुद्ध, भ्रष्टाचारको विरुद्धको लडाइँमा जनयुद्धको बेलामा जस्तै हाम फालेको अनुभव हुन्छ,’ प्रचण्डले भने, ‘ जनयुद्धको बेलामा कतिबेला मरिन्छ भन्ने थाहा थिएन, अहिलेको लडाइँ पनि त्यस्तै त्यस्तै छ । कतिबेला घेरामा परिने हो, मारिने हो, दुश्मनको घातप्रतिघातमा परिने हो ठेगान छैन ।’

प्रधानमन्त्री प्रचण्डले केही समयभित्रै अझ ठूलठूला एक्सनहरु हुने र त्यसले झन ठूलो तरंग ल्याउने अनुमान पनि गरेका छन् ।

‘त्यतिबेला घेरा हाल्ने, घात प्रतिघात गर्ने र विभिन्न षड्यन्त्र हुने भन्दै प्रचण्डले जनताको साथले आफूहरु अघि बढ्ने बताए । उनले संसदीय राजनीति कम्युनिष्टको सभा जस्तो नभई टाउको र संख्याको आधारमा चल्ने गरेको भन्दै पार्टी नेतृत्वलाई अपमानित गर्ने र घेर्ने कोशिस भईरहेको बताए ।

उनले जनताको पक्षमा , शहीदहरुको सपना पूरा गर्न अन्तिम सम्म लडिरहने पनि प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस