अबको दश बर्षभित्र भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने मोदीको घोषणा

जेठ १८ , काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अबको १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने बताएका छन् । भारत भ्रमणका क्रममा रहेका नेपालका समकक्षी पुष्पकमल दाहाल प्रचण्डसँग भएको संयुक्त पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्।

‘नेपालबाट भारतमा बिजुली निर्यातको विकल्प बनाउन हामीलाई पूर्वाधार चाहियो। हाम्रो पार्टरनशिपलाई सुपर हिट बनाउन महत्वपूर्ण निर्णय लिइएको छ’, उनले भने, ‘भारत र नेपालबीच लङटर्म पावर ट्रेड एग्रिमेन्ट सम्पन्न भएको छ। हामीले आउने १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने छौँ।’

त्यसकै लागि दुई देशबीच फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि हस्ताक्षर भएको छ। भारतीय प्रधानमन्त्री मोदीले नेपालको जलश्रोत भारतका लागि अतिमहत्वपूर्ण भएको बताउँदै यसमा मिलेर काम गर्ने बताएका छन् ।
नेपालले गतवर्षदेखि भारतमा बिजुली निर्यात शुरु गरेको छ । साथै भारतको बाटो हुँदै बंगलादेशलाई बिजुली निर्यात गर्न दिन पनि भारत सकारात्मक भएको छ ।

प्रतिक्रिया दिनुहोस