साइकलसहित शिखर चुन्ने सपना अधुरै राखेर सगरमाथामै अस्ताएका रञ्जित !

कुम्भराज राई,ओखलढुंगा । २५ तारिख (११ जेठ) बिहीबार राति रञ्जितकुमार साह र उनका गाइड लाक्पानुरी शेर्पा साउथ समिट (८६००) मिटरमाथि उक्लिसकेका थिए । चुचुरो पुग्न करिब दुई सय मिटर बाँकी थियो ।

रातको १ बजेर ५५ मिनेटमा एक्कासि उनको जीपीएस अफ भयो । जीपीएस ट्र्याक गरिरहेका ङिमादेण्डी शेर्पालाई लाग्यो– पक्कै ब्याट्री सकियो । साउथ समिटबाट तीनदेखि पाँच घण्टाभित्र चुचुरोमा पुगिसक्नुपर्ने थियो ।

उनीहरूलाई सेटमा सम्पर्कको प्रयास गरियो । कुनै प्रतिक्रिया आएन । सोही दिनको साँझ वा भोलिपल्टसम्म चौथो शिविर फर्किएलान् भन्ने आशा थियो । शेर्पा गाइड साथै भएकाले रञ्जित सम्पर्कमा आउलान् भन्ने लाग्यो । तर, न उनीहरू चुचुरोमा पुगेको खबर आयो, न चौथो शिविर फर्किएको । दुवै सम्पर्कविहीन भए । अन्ततः रञ्जित र लाक्पानुरु साउथ समिटदेखि सधैंका लागि हराए ।

जनकपुर बसपार्कको दायाँतर्फ छेवैमा छ– रञ्जितको पानपसल । बुबाको पानपसल सम्हाल्दै आएका थिए रञ्जितले । औसतभन्दा फरक स्वभावका थिए । ११ महिना पानपसल चलाउँथे । एक महिना पसलको सटर झार्थे र फिरन्तेका रूपमा जनकपुरदेखि साइकलको पाइडल मार्थे ।

यसरी रञ्जितले जनकपुर–पशुपति, जनकपुर–हलेसी, जनकपुर–अयोध्या, जनकपुर–मुक्तिनाथ, जनकपुर–पाथीभराको सयौं किलोमिटर यात्रा गरिसकेका थिए । उनको मनमा एक्कासि साइकल लिएर सगरमाथा आधारशिविर जाने हुटहुटी पलायो । काठमाडौं पुगे । पर्यटन विभागमा सोधे ।

तत्कालीन विभागकी निर्देशक मीरा आचार्य उनको हुलिया देखेर छक्क परिन् । रञ्जित हिरो साइकल लिएर प्लास्टिक जुत्ताको साथमा आधारशिविर जाने तयारीमा थिए । मीराले बाटामा अप्ठ्यारो परे सहयोग गर्ने वाचासहित आधारशिविर यात्राको शुभकामना दिइन् ।

प्रतिक्रिया दिनुहोस