सोमबारको ब्रत बसेर हरियो कपडा, चुरा, पोते र मेहेन्दी लगाउनुको यस्तो छ फाइदा र बेफाइदा

काठमाडौँ– नेपाली परम्परा र स‌ंस्कृतिको एक महत्पूर्ण पाटो हो साउन महिना। साउन महिनाभर महिलाहरु सोमबारको ब्रत बसेर हरियो कपडा, चुरा, पोते र मेहेन्दी लगाउने गर्दछन्। साथै हिन्दु धर्म अनुसार साउन महिनाभर हरियो पोते, चुरा लगाउँदा शरीरलाई वर्षभरको शितलता प्रदान हुन्छ भन्ने मान्यतासमेत रहेको छ। त्यसैगरी हातमा मेहेन्दी लगाउनुलाई शुभ समेत मान्ने गरिन्छ।साउनभर महिलाहरु विभिन्न प्रकारका डिजाइन बनाएर हातमा मेहेन्दी सजाउने गरेको समेत पाइन्छ।

हातमा मेहेन्दी कसैले रहरले लगाउने गर्छन् त केसैले परम्परागत हिसाबले लगाउने गर्छन्। जसले जसरी लगाएता पनि पछिल्लो समय मेहेन्दीलाई फेसनको रुपमासमेत लिन थालिएको छ। साउनको महिनामा रोपाई वा खेतीपाती हुने भएकाले काममा जुट्नु पर्ने हुन्छ। खेतीपातीमा जुट्ने महिलाहरुको हात फुट्ने साथै चोटपटक लाग्दा हातमा मेहेन्दी लगाएको खण्डमा घाउ निको हुन्छ भन्ने मान्यता रहेको संस्कृतिविद् ओम धौभडेलले बताए।

मेहेन्दीलाई परापूर्वकालमा औषधिको रुपमा प्रयोग गर्ने गरेको उनको भनाई रहेको छ। महिलाहरु आफ्नाे सुन्दरतामा ध्यान दिने गर्दछन्। जसका कारण खेतबारीमा काम गर्दा फुटेका हात छोप्न उनीहरुले मेहेन्दीको प्रयोग गर्ने गरेको उनी बताउँछन्।

स‌ंस्कृतिविद् धौभडेलले भने,‘खेतबारीमा काम गर्ने महिलाको हातको छाला फुटेर नराम्रो देखिने हुँदा आफ्नो सौन्दर्य कामय राख्नका वा छोप्नका लागि समेत महिला मेहेन्दीको प्रयोग गर्ने गर्थे।’ उनका अनुसार महिलाहरुले आफ्नो हात सुन्दर देखाउन मेहेन्दीको प्रयोग गर्ने चलन चल्दै आएको हो।

मेहेन्दी प्राकृतिक अर्थात अर्गानिक र केमिकलयुक्त गरी दुई प्रकारका हुन्छन्। पहिला–पहिला प्राकृतिक मेहेन्दीको प्रयोग गर्ने गरेता पनि पछिल्लो समय भने केमिकलयुक्त मेहेन्दीको प्रयोग बढीरहेको चिकित्सकहरुको भनाई छ। मेहेन्दीकाे बाेटकाे पातबाट बनाइएकाे मेहेन्दी प्राकृतिक हाे भने बजारमा पाइने कोन, कलर, छापा जस्ता मेहेन्दी केमिकलयुक्त हुन्।

बजारमा पाइने यस्ता केमिकलयुक्त मेहेन्दीमा रङ्ग कडा बसाउनका लागि केमिकलको अत्यधिक प्रयोग गरिने गरेको प्रा. डा. सविना भट्टराईले बताइन्। डा. भट्टराईका अनुसार केमिकल युक्त मेहेन्दीको प्रयोग गर्दा एक्जिमा कन्ट्याक्ट डर्मटाइटिस् र इरिटेन्ट कन्ट्याक्ट डर्मटाईटिस् गरी दुई प्रकारको एलर्जी हुन सक्दछ।

डा. भट्टराईले भनिन्,‘एक्जिमामा पहिला मेहेन्दी लगाउँदा एलर्जि भइसकेकालाई फेरी रियाक्सन हुने गर्छ भने इरिटेन्टमा पहिला सेन्सेटाइजेसन हुने गर्दछ, जसमा पहिला एलर्जी छैन तर मेहेन्दी लगाउने वित्तिकै केमिकलको इरिटेसनले गर्दा हुने रियाक्सन हुन्छ।’

त्यसैगरी, मेहेन्दीकै कारण अन्य विभिन्न समस्याहरु समेत उत्पन्न हुन सक्दछन्। यस्तो मेहेन्दी लगाउने महिलाहरुमा हात चिलाउने, रातो हुने, सुन्निने, पानी तर्रतर्र चुहिनेदेखि लिएर पहिला स्कार बनेर जीवनभर नै हातमा कालो दागहरु समेत बस्ने सम्भावना हुने उनले बताइन्।

यति मात्र नभएर कतिपय मेहेन्दीमा क्यान्सर बनाउने केमिकलको प्रयोग गरिएको समेत पाइएको बताउँदै उनले भनिन्,‘कतिपय मेहेन्दी रगतमा छिरेर शरीरभर एलर्जि निस्किनुका साथै क्यान्सरको खतरा समेत हुने गर्दछ।’ तर अर्गानिक मेहेन्दीबाट कुनै रियाक्सन हुँदैन भन्ने मान्यता गलत भएको विज्ञहरुको बुझाई छ। डा. भट्टराईका अनुसार अर्गानिक मेहेन्दी प्रयोग गर्दा यसको साइड इफेक्ट हुँदै हुँदैन भन्न मिल्दैन, तर केमिकलयुक्त मेहिन्दीको तुलनामा भने एकदमै कम हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस