सानै उमेरमा किन चाउरिन्छ छाला ? यसरी गर्नुहोस् हेरचाह

♦ प्रायः कम महत्वमा पर्ने तर अति नै संवेदनशील अंग हो, छाला । मानव शरीरको सौन्दर्यसँग जोडिएकाले यसको हेरचाहमा वैज्ञानिक तरिका अपनाउनुपर्छ ।

♦ ९० प्रतिशतभन्दा बढी कोलाजेन प्रोटिनले बन्ने छाला शरीरको सबैभन्दा ठूलो ग्रन्थि हो, जसलाई बनोटका दृष्टिले डर्मिस र एपिडर्मिस गरी दुई भागमा वर्गीकरण गरिन्छ ।

♦ बुढ्यौलीपनसँगै छालामा पर्ने चाउरीपना स्वाभाविकै हो । तर, कम उमेरमा पनि यो समस्या देखिनुमा विभिन्न स्वास्थ्य समस्या जोडिएका हुन्छन् ।

♦मूलतः शरीरमा पानी र पोषक तत्व (भिटामिन ए, सी र प्रोटिन)को कमी, मानसिक तनाव, अत्यधिक धूम्रपान, थाइरोइड हर्मोनको उतारचढाव यसमा जिम्मेवार छन्।

♦ त्यसैले जीवनशैलीमा परिवर्तन गर्नु नै समस्या निराकरणको उपाय हो ।

♦ स्वस्थ छालाका निम्ति मेवा, गाँजर, कागती, अमला, काँक्रो, खर्बुजाजस्ता भिटामिन ए र सी तथा मिनरल्सयुक्त वस्तुको सेवन उपयुक्त हुन्छ ।

♦गेडागुडी, माछामासुजस्ता प्रोटिनयुक्त खानेकुरा पनि छालाका निम्ति अपरिहार्य छन् ।

♦छाला सुक्खा हुने समस्या निराकरणका लागि मोस्चराइजरको अधिकतम प्रयोग आवश्यक हुन्छ । त्यसमा पनि आयल बेस मोस्चराइजरको प्रयोग उपयुक्त हुन्छ ।

♦चिल्लो छालामा भने छिटो सुक्ने खालको मोस्चराइजर प्रयोग गर्नुपर्छ ।

♦बजारमा पाइने स्टेरोइडमिश्रित क्रिमले छालामा गम्भीर समस्या निम्त्याइरहेका छन् ।

♦ यस्ता क्रिमले छालाको असली स्वरूप परिवर्तन गराइदिन्छन् । छाला पातलो हुने, चाउरी पर्ने र बिमिरा आउने समस्याको कारक यस्तै क्रिम हुन् ।

♦ आफ्नो छालासँग मिल्ने क्रिम छनोट गरौँ । नत्र, पछुताउनुको विकल्प रहँदैन ।

♦ चाउरीपनबाट छालालाई बचाउने प्राकृतिक उपाय प्रशस्तै छन् ।

♦हरियो काँक्रोको टुक्रालाई कागतीपानीमा एक रात भिजाएर सातामा एकपटक आधा घन्टासम्म अनुहारमा राखेमा छाला चाउरी पर्नबाट बच्न सकिन्छ ।

♦ पाकेको (पहेँलो) काँक्रोलाई एक इन्चका टुक्राहरू बनाई कागती, चिउरीको घिउ र बेसनको हल्का पातलो झोलमा ६ घन्टा भिजाएर सातामा दुईपटक ४५–६० मिनेट चाउरिइसकेको छालामा राखी तीन–चार महिना उपचार गर्दा समस्या समाधान हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस