नेकपा र एमालेबीच चुनावी तालमेल हुदैछ ? विप्लवले केपी ओलीसँग ७ बुँदे सहमती गरेको खुलासा, किन गोप्य राखिए ४ बुँदा ?

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ईन्ट्रीले रडाको मच्चिएको छ । महासचिव विप्लवको राजनीतिक लाइनसँग असहमत भएका वरिष्ठ नेता हेमन्तप्रकाश ओली र अर्का सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले नेकपाबाट विकल्प खोज्न सक्ने बताएपछि पार्टी विभाजनको सँघारमा पुगेको हो ।

विप्लवले चुनावी लाइन लिने राजनीतिक प्रस्ताव केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेपछि ओली र बाँस्तोला विपक्षमा उभिएका थिए । ओली र बाँस्तोलाको आडमै बहुमत केन्द्रीय सदस्य चुनावलाई उपयोग गर्ने लाइनको विरोधमा छन् । विप्लवको राजनीतिक लाइनविरुद्ध उभिने नेताहरूले एमाले अध्यक्ष केपी ओलीसँगको सम्बन्धको विषयमा पनि प्रश्न उठाएका छन् ।

नख्खु जेलमै रहेको बेला आफुसँग कुनै पनि सल्लाह नगरी विप्लव र प्रकाण्डले ओली सरकारसँग ४ बुँदे सहमति गरेपछि वरिष्ठ नेता हेमन्तप्रकाश ओली रष्ट बनेका थिए । त्यस्तै उनले आफुलाई पार्टी कै योजनामा पक्राउ गराईएको भन्दै असन्तुष्टीसमेत राख्दै आएका थिए ।

त्यस्तै कपिलवस्तु बैठकमा ओलीसँग विप्लवले शान्ति वार्तामा आउने क्रममा सार्वजनिक रूपमा ३ बुँदे सहमति गरेको देखिए पनि गोप्य रूपमा सातबुँदे सहमति भएको गरेको भन्दै बाँकी गोप्य रहेका चारवटा बुँदा सार्वजनिक गर्न केन्द्रीय सदस्यले माग पनि गरेका छन् । चुनावी लाइन लिएसँगै विप्लवले एमालेसँग चुनावी गठबन्धन गर्न सक्ने संकेत गरेपछि अधिकांश केन्द्रीय सदस्यले गोप्य चारवटा बुँदामाथि प्रश्न उठाएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

विप्लव नेतृत्वको नेकपा कपिलवस्तुमै विभाजित हुने वा काठमाडौं फर्केपछि भन्ने प्रश्न पनि उठेको छ । स्रोतका अनुसार अहिलेसम्म ६९ सदस्यीय केन्द्रीय कमिटीमा करिब ३० जना केन्द्रीय सदस्य ओली र बाँस्तोलाको पक्षमा छन् । काठमाडौं आएर विकल्पको खोजी गर्दा ती सबै केन्द्रीय सदस्यले ओलीलाई साथ दिन नसक्ने विश्लेषण पनि भइरहेको छ । नेकपा स्रोतका अनुसार बाँस्तोलाले अन्तिममा ओलीलाई साथ दिएनन् भनेचाहिँ केन्द्रीय सदस्यको संख्या घट्न सक्छ ।

प्रतिक्रिया दिनुहोस