रास्वपाप्रति गगन थापाको टिप्पणी – ‘जादुगर हुँ’ भन्दै आएर संविधानमाथि प्रहार गरिरहेका छन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलहरुबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाउनुभएको छ ।

शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै उहाँले निर्वाचनमा भग लिएको जस्तो देखिएपनि इतिहासलाई मेटाउने, संघर्षका दिनहरुलाई मेटाउने काममा लागेको बताउनुभयो । उहाँले आफू जादुगर हुँ भन्दै आउनेहरु लोकरिजाँईको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताउनुभयो ।

महामन्त्री थापाले संविधानमाथि प्रहार गर्नेहरुलाई चिनेर चिरफार गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति लक्षित गर्दै विगतको अध्याँरोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझोलमा पार्ने काम गरिरहेको बताउनुभयो ।

महामन्त्री थापाले नेपाली काँग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको बताउनुभयो । उहाँले देश सम्हाल्ने काम काँग्रेसको भएको बताउनुभयो । उहाँले सुशासनलाई पार्टीले मन्त्र बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस