जसपालाई कसैको बैशाखी चाहिँदैन, एक्लै चुनावमा जान सक्षम छ : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय सत्ता गठबन्धनलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले प्रतिगामी शक्तिहरुलाई कमजोर बनाउन गठबन्धनको निरन्तरता आवश्यक रहेको बताएका हुन् । उनले गठबन्धन आवश्यक भएपनि जनता समाजवादी पार्टी (जसपा) एक्लै चुनावी प्रतिस्पर्धामा जान सक्षम रहेको दावी गरे ।

उनले भने, ‘अहिलेको पाँच दलीय गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो तर गठबन्धन हुन सकेन भनेपनि जसपा एक्लै चुनाव लड्न सक्षम छ । एक्लै धेरै ठाउँमा जित्न सक्षम छ,’ उनले भने, हामीलाई चुनाव जित्न कसैको बैशाखी चाहिँदैन ।’

उनले देशभर प्रतिगामी शक्तिलाई पराजित गर्न गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सके लोकतन्त्रको मजबुत हुने बताए । जसपा अध्यक्ष यादवले गठबन्धनलाई नै निरन्तरता दिन अधिकतम पहल गर्नुपर्नेमा जोड दिए ।

‘गठबन्धनको विजय भयो भने लोकतन्त्र बलियो हुन्छ । गठबन्धन पनि बलियो हुन्छ । सम्मानजनक रुपमा प्रतिनिधित्व हुने गरी गठबन्धन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले थपे, ‘सकेसम्म गठबन्धन भएरै जानुपर्छ भन्ने हो। त्यसो हुन सकेन भने पनि हामी एक्लै चुनावमा जान तयार छौं ।’

सत्तारुढ दल जसपासहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गरेर जाने सहमति भएको छ । तर कुन पालिकामा कुन दलको उम्मेदवार उठाउने भन्नेमा भने समझदारी भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस