चितवनमा प्रचण्डका बाबुछोरी हराउन विक्रम पाण्डेलाई महेश बस्नेतको यस्तो अफर कांग्रेस र नेकपा एमालेमा छायो खुयाली

भरतपुर : नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं युवा संघ इन्चार्ज महेश बस्नेतले चितवनमा एमाले र राप्रपा सहकार्यको प्रस्ताव गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा र छोरी रेणु दाहाललाई भरतपुरमा हराउन बस्नेतले राप्रपा उपाध्यक्ष विक्रम पाण्डेलाई सहकार्यको अफर गरेका हुन्। पाण्डेले चितवन ३ मा प्रचण्डलाई चुनौती दिँदै आएका छन्।

चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी भरतपुर आएका बस्नेतले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै रेणु र उनका बा हराउन पाण्डेलाई एमालेमा आउन वा सूर्य चिन्ह लिएर चुनाव लड्न आग्रह गरे।

भरतपुर महानगरपालिका एमालेले लिने र प्रचण्डको चुनाव क्षेत्र राप्रपालाई छाड्ने सहमति भइसकेको हो भन्ने प्रश्नमा बस्नेतले भने, ‘त्यो तहमा वार्ता भएको मलाई जानकारी छैन। तर मैले अघिल्लो चुनावमै विक्रम पाण्डेजीलाई एमालेमा आउनुस्, टिकट लिएर चुनाव लड्नुस् भनेको हो। त्यसरी रेणु दाहालाई र रेणुका बालाई हराउन सकिन्छ। अब रेणुको बाप्रति विक्रम पाण्डेको सहानुभूति कति छ, म जान्दिन। यदि सहानुभूति छैन र यो मुलुकमा निर्वाचित सासद भएर हिँड्ने रहर छ भने एमालेमा प्रवेश गर्ने वा एमालेको सूर्य चिन्ह लिने उहाँका लागि सबभन्दा राम्रो आधार हुन्छ।’

भरतपुरमा गठबन्धनलाई असहयोग गर्छौं भनेर कांग्रेस बोलेको अवस्था रहेको भन्दै उनले सहकार्यको यो उपयुक्त मौका भएको जिकिर गरे।

उनले घोषित रुपमा राजेन्द्र लिङ्देनको राप्रपासँग गठबन्धन नहुने पनि स्पष्ट पारे। ‘एकआध ठाउँमा सहकार्य होला। गठबन्धन कति जटिल छ भन्ने सत्ता गठबन्धनबाट महसुस गरेका छौं,’ उनले भने, ‘एमालेले गठबन्धन गर्ने भन्दा पनि चुनाव चिन्ह लिएर सहकार्य गर्न आउँछन् भने यसलाई स्वभाविक रुपमा लिन्छ। राप्रपासँग गठबन्धन होला जस्तो लाग्दैन।’

कमल थापाको राप्रपा नेपाल र परिवार दललगायत साना दलसँग भएको सहकार्यलाई गठबन्धन भन्न नमिल्ने उनले जिकिर गरे। ‘एमालेको जनआकर्षण र प्रभावबाट विभिन्न दलका केही नेताहरु नजिक भएका हुन्। यसलाई गठबन्धन भन्न मिल्दैन,’ उनले भने, ‘साना दलहरु र राजनीतिक साथीहरु एमाले सूर्य चिन्ह लिएर चुनावमा सहभागी हुन खोजेका छन्। यसले एमालेसँग निकटता बढाउने र भविष्यमा एमालेमै आबद्ध हुने अभियान पनि हुनसक्छ।’

प्रतिक्रिया दिनुहोस