आगामी निर्वाचनमा पार्टी एक भएर जानेमा म विश्वस्त छु : प्रधानमन्त्री ओली

काठमाडौं, ७ पुष । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपा एक भएर जाने विश्वास व्यक्त गर्नुभएको छ ।
वालुवाटारमा बसेको ओली निकट केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले धेरै प्रयास गर्दा पनि विवाद मिल्न नसकेको बताउँदै अब निर्वाचनमा भने एक भएर जाने विश्वास व्यक्त गर्नुभयो ।

बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै ओली समूहका नवनियुक्त प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपराज ज्ञवालीले पार्टी एकताका लागि प्रधानमन्त्री ओली गम्भीर भएको बताउनुभयो ।

उहाँले बैठकमा प्रधानमन्त्री ओलीले गम्भीर धारणा राख्नु भएको जानकारी पनि दिनु भयो । ज्ञवालीका अनुसा बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो ‘पार्टी एकता बचाइराख्न म अध्यक्ष पुष्पकमल दाहालकोमा धाँए , मन्त्रीज्यूहरुलाई घरघरमा गएर भेटे, कार्यदल बनाइयो तर कुनै काम लागेन तर अब निर्वाचनमा पार्टी एक भएर जान्छ भन्नेमा विश्वस्त छु ।’

बैठकले कुनै पनि सदस्यलाई कारवाही नगर्ने निर्णय लिएको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । उहाँले अध्यक्ष र महासचिव उपस्थित भएको बैठक बैधानिक हुने भन्दै अर्को बैठक पर्सि मंसिर ९ गते बस्ने जानकारी दिनुभयो । यसैगरी ज्ञवालीले २०७८ को मंसिर २ देखि ७ गतेसम्म काठमाडौंमा एकताको महाधिवेशन गर्ने निर्णय गरेको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस