प्रधानमन्त्री ओली पदमुक्त भए पछि अब नयाँ सरकार कसरी बन्छ ?

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विस्वासको मत गुमेसँगै अब नयाँ सरकार गठनको बहस शुरु भएको छ । काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने बिपक्षीले प्रयास थाल्ने बताएका छन् ।

संविधानको धारा ७६ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार, सबैभन्दा ठूलो दलको नेताको नेतृत्वमा अल्पमतको सरकार र कुनै सांसदको नेतृत्वमा बन्ने सरकार गरी तीनवटा सरकार बन्न सक्ने संविधानमा व्यवस्था छ ।
संसदमा कुनै पनि एक दलको बहुमत नभएकाले संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार बन्ने सम्भावना विकल्प सकिएको छ ।
अब धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सांसद प्रधानमन्त्री बन्न सक्ने पहिलो विकल्प छ । काँग्रेस र माओवादीले जसपालाई साथ लिएर नयाँ सरकार यही व्यवस्था अनुसार बनाउन सक्नेछन् ।

राष्ट्रपतिले संभवत आजै नयाँ सरकार गठनका लागि आव्हान गर्ने संभावना छ ।
संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री नियुक्त हुन संसदका विभिन्न दल मिलेर १३६ सांसदको समर्थन जुटाउनुपर्छ । हाल २७१ सदस्य कायम रहेको प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेको १२१, नेपाली कांग्रेसको ६१ ,नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीको ३२ , राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र १र१ सांसद छन् ।

संसदमा १३६ सांसदको समर्थन जुटाउन नेकपा एमालेले आफ्ना सबै सांसदको मत सुरक्षित गर्दै थप अर्को पार्टीको समर्थन लिनुपर्नेछ । तर एमाले भित्रै विवाद उग्र रहेको र माधव समुह आज संसदमा समेत उपस्थित नभएकाले त्यो संभावना कमै देखिन्छ ।
यदी आज तठस्त बसेको जसपाको मत काँग्रेस माओवादी गठबन्धनमा गएन भने प्रतिनिधि सभाको ठूलो दलको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार बन्न पनि सक्नेछ ।

प्रतिक्रिया दिनुहोस