बालकोट पुगेर घरको बार्दलीबाट ओलीको भाषण: ‘माधव नेपाल लाजशरम पचेकालाइ अब एमालेमा कुनै ठाउँ छैन’

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोटस्थित आफ्नो निवास फर्केका छन् । सर्वाेच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गर्दै प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो ।

नवनियुक्त प्रधानमन्त्री देउवाले मङ्गलबार प्रधानमन्त्रीका रुपमा शपथग्रहण गरेपछि आज निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाडेका हुन् । उनलाई पार्टी निकट सङ्गठन र उहाँका समर्थकले नारा–जुलुससहित बालकोटसम्म पछ्याएका थिए ।

नेकपा एमालेको भातृ संगठन युथ फोर्स र युवा संघले बालुवाटारबाट स्कर्टिङ र नाराबाजी गर्दै बालकोटस्थित घरमा पुर्‍याएपछि निवर्तमान प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन्। आफूलाई कुनै गल्तीविना अकारण हटाइएको ओलीको दाबी थियो।

ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई लाजशरम हराएका मानिसहरू भनेका थिए।‘आफ्नै पार्टीको सरकार ढाल्नका लागि कहिले राष्ट्रपतिकहाँ विरोधीलाई लाइन लगाएर, माधव नेपालजस्ता लाजशरम हराएका मानिसहरू,’ उनले भने। उनले यसो भन्दा कार्यकर्ताले माधव नेपाललाई पार्टीबाट निकाल्नुपर्ने भन्दै नाराबाजी गरेका थिए।

उनले आत्मआलोचना गरेर आए अन्य नेतालाई ठाउँ भए पनि माधव नेपालका लागि एमालेमा ठाउँ नभएको प्रष्ट पारे। ‘अरुले आत्मआलोचना गरे भने ठाउँ दिन सकिन्छ’, बालकोट पुगेपछि समर्थकलाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन।

प्रतिक्रिया दिनुहोस