नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई दश लाख धरौटीमा रिहा

बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपेका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए ।पटक-पटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेका गच्छदारलाई ‘फरार’ सूचीमा राखिएको थियो । आज बिहान गच्छदार आफैं विशेष अदालत पुगेर थुनछेक बहसमा सहभागी भएका थिए ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। जग्गा हिनामिना प्रकरणमा मुछिएका गच्छदार एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहेका थिए।

अदालतले उपस्थित हुन पटक–पटक दिएको आदेश दिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिनामा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै उनले छानबिन निकायलाई सघाउने बताएपनि फरार थिए।भ्रष्टाचारको मुद्दा लागेपछि गच्छदारको सांसद पद निलम्बन भएको छ। भ्रष्टाचार निवारण ऐन अनुसार भ्रष्टाचारविरुद्व मुद्दा परे सार्वजनिक पद स्वतः निलम्बन हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस