सबै षडयन्त्रको हिसाव निर्वाचनबाट लिन्छौंः अध्यक्ष ओली

काठमाडौं, भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै षडयन्त्रको हिसाव आगामी निर्वाचनबाट लिने बताउनुभएको छ । युवा संघ, नेपालले ललितपुरको लुभुमा आयोजित कार्यक्रममा शनिबार अध्यक्ष ओलीले सो कुरा बताउनुभयो ।

एमालेविरुद्ध एक्लाएक्लै लड्न नसक्ने भएकै कारण अन्य दलहरु एमालेविरुद्ध मोर्चाबन्दी गर्न लागेको उहाँले बताउनुभयो । केही मान्छेहरु पार्टीबाट बाहिरिए पनि एमाले पार्टी नफुटेको अध्यक्ष ओलीको भनाई छ । रुखबाट पात पहिलिएर खस्नु स्वभाविक प्रक्रिया भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले त्यसले सिङ्गो एमालेलाई खासै फरक नपर्ने बताउनुभयो । नुहाउँदा पनि एक दुईटा कपाल झर्छ त्यसले फरक पर्दैन उहाँले भन्नुभयो ।

जनताबाट निर्वाचित सरकारलाई षडयन्त्रले अपदस्त गरेर मुलुकमा प्रतिगमन ल्याउने प्रयास भएको बताउनुभयो । यो प्रतिगमनलाई ढाल्न र मुलुकलाई सही बाटोमा ल्याउन युवाले संघर्ष गर्न आवश्यक रहेको अध्यक्ष ओलीले बताउनुभयो । भविष्यलाई अन्धकारतर्फ जान नदिन युवा स्यवयम् संघर्ष गर्न आवश्यक रहेको बताउनुभयो ।

कम्युनिष्ट नेतृत्वको सरकारलाई अधिनायकवादीको आरोप लगाउनेहरु गलत बाटोमा रहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “देश बनाउने अभियानको महासागररुपी पार्टीभित्र पौडी खेल्न पुगेन भनेर केही मान्छे अलग भएका छन्, त्यसले हामीलाई केही फरक पर्दैन ।” सम्झाएर, बुझाएर नसकिए पछि उहाँहरु अलग भएको बताउनुभयो । “जति गर्दा पनि पार लागेन, सम्झाउन सकिएन” उहाँले भन्नुभयो । केही मानिस अलग भए पनि पार्टीभित्र नयाँ पालुवा पलाइरहेको उहाँले चर्चा गर्नुभयो ।

युवा नेता महेश बस्नेतले अध्यक्ष ओलीलाई परास्त गर्न मुलुकका सबै शक्ति लागेको भए पनि सफल हुन नसक्ने दावी गर्नुभयो । एमालेरुपी जहाजलाई सहीरुपले सेफल्याण्डिङ गरिएको चर्चा गर्दै एमाले केन्द्रीय सदस्य समेत रहनुभएका नेता बस्नेतले भन्नुभयो, “एमाले एकतावद्ध रुपले अघि बढ्छ, अरुको जस्तो कसैको टाङमुनि छिर्दैन ।” रुखका बुढा पातहरु झरेर पार्टीलाई खासै नोक्सान नहुने उहाँले बताउनुयभयो ।

एमाले नेतृ सुशीला नेपालले नेपाली महिला अहिले पनि पीडाबाट मुक्त हुन नसकेकाले राजनीतिक, सामाजिक संघर्ष जारी रहेको बताउनुभयो । महिलाको अधिकार सुनिश्चित गराउन महिला नै नेतृत्वमा पुग्न आवश्यक रहेको उहाँले बताउनुभयो । दूरदराजमा बस्ने महिलालाई अहिले पनि दोस्रो दर्जाको जीवन जिउन बाध्य रहेको उहाँले चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस