उजुरी दिन्छु भनेर धम्की दिने ३ महिला पक्राउ, लजमा बोलाएर यतिसम्म गरेका थिए

दाङ प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियार पक्राउ परेका हुन् । गत शुक्रबार पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक लाभसम्बन्धी अपराधमा अनुसन्धान सुरु गरेको दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

गत असार ६ गते दाङको घोराहीमा श्याम प्रसाद जैसी (परिवर्तित नाम) लाई सीतादेवी थापाले फोन गरेर ‘मेरो घरायसी विषयको मुद्दा छ, तपाईं कानुनको बारेमा जानेको मान्छे’ भनी सल्लाह गर्न बोलाएकी थिइन् ।

त्यसपछि जैसीले घोराही उपमहानगरपालिका–१५ को कोहिनुर रेष्टुरेन्टमा घोराही नगरपालिका–१५ कि थापा र खुमा वलीलाई भेट्छन् । रेष्टुरेन्टको क्याबिन कोठामा मुद्दाको बारेमा कुराकानी भएको थियो ।

घर फर्किने बेलामा थापा कोठाको खाटमा पल्टिएकी थिइन् । पैसा तिरिसक्दा पनि तल नझरेपछि जैसीले बोलाउन जाँदा उनले ‘मेरो इज्जतमा हात हाल्ने अब म छोड्दिन मुद्दा हाल्छु’ भनेर वादविवाद भएको थियो ।

प्रहरी प्रवक्ता रिजालका अनुसार असार ७ गते खुमा वलीले फोन गरी सीतादेवीका ठूलावडा मान्छे छन्, मुद्दा दर्ता गर्ने कुरो गर्दैछिन् के गर्ने, हामी मिलाउँछौं, प्रहरी कार्यालयमा यो कुरा पुग्न दिँदैनौं केही पैसा तपाईंले दिनुपर्छ आउनुस् छलफल गरौं भनेर जैसीलाई बोलाएकी थिइन् ।

त्यसपछि उनीहरुको सागर एण्ड सुनील रेष्टुरेन्ट तथा लजमा भेट हुन्छ । त्यहाँ पुगेपछि जैसीसँग ५० लाख रुपैयाँ माग गरिएको थियो । उनले त्यति रकम छैन भन्दा मुद्दा नहाली छाड्दै छाड्दैनौं भनेर १ लाख रुपैयाँ र १७ लाख रुपैयाँको चेक लिएका थिए ।

पीडितको उजुरीका आधारमा प्रहरीले थापाको कोठामा खानतलासी गर्दा १७ लाख रुपैयाँको चेक भेटेको छ भने १ लाख नगद ब्याजमा लगाइसकेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस