डा देउवाको स्पष्टीकरण- ‘बतासमा संलग्न छैन’

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले केही सञ्चारमाध्यममा विभिन्न सङ्घसंस्थामा आफ्नो संलग्नता रहेको भनेर आएको समाचारको खण्डन गर्नुभएको छ ।

आफ्नो संग्लनता रहेको भनेर आएका समाचारमा कुनै सत्यता नरहेको भन्दै उहाँले ती समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको आज एक विज्ञप्तिमार्फत स्पष्ट गर्नुभएको छ । उहाँले आफू संलग्न रहेका केही संस्थाको नाम दिएर ती बाहेककामा आफ्नो कतै संलग्नता नरहेको स्पष्ट गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, “सञ्चारमाध्यममा विभिन्न सङ्घसंस्थामा मेरो संग्लनता भएको भनेर समाचार आएकामा मेरो ध्यानाकर्षण भएको छ, तल उल्लेखित संस्थाबाहेक अरु कुनै पनि संस्थामा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।”

उहाँले आफ्नो संलग्नता रहेको भनेर दिएका ती संस्थामा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक), साथी नेपाल, सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नामी, उल्लेन्स स्कुल र ब्लड डोनर्स् एसोसिएसन अफ नेपाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस