कार चढेर हिड्ने ईश्वरीको अनौठो धन्दा, प्रहरी समेत चकित….

कपिलवस्तुको शिवराज नगरपालिका–५ बाट पक्राउ परेका ५० वर्षीय ईश्वरीप्रसाद पोखरेल दर्जनौँ ठगीका घटनामा संलग्न भएको पाइएको छ । उनी गएको सोमबार पक्राउ परेका हुन् । उनले ठगी कार्यकै लागि वर्तमान अर्थमन्त्री जनार्दन शर्माको नामसमेत प्रयोग गरेको भेटिएको छ।

प्युठानको झिमरुक गाउँपालिका-६ घर भएका उनी हाल तोरवाङमा बस्दै आएका थिए । उनले आफूलाई भेडीगोठ बाख्रा फार्म प्रालि चित्लाङ, मकवानपुर, कामधेनुगाई फार्म प्रालि खैरेनीपुर, चितवन, प्रिसा पशुपन्छी तथा कृषि फर्म प्रालि झिमरुक, प्युठान, प्रिंस कन्स्ट्रक्सन प्रालि काठमाडौं, गौमुखी फिड इन्डष्ट्रिज कपिलवस्तुको प्रोपाइटर बताउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले सबैलाई चेक नै दिने गरेका थिए ।

उनीविरुद्ध प्रहरीमा दर्जनौँ उजुरी आउन थालेपछि प्रहरीले खोजीकार्य सुरु गरेको थियो । ठगी मुद्दाकै अनुसन्धानका क्रममा उनी सोमबार कपिलवस्तुको शिवराज नगरपालिकास्थित वडा प्रहरी कार्यालय चन्दौटाको चेक प्वाइन्टमा वाग्मती प्रदेश ०१-०२६ च ४००१ नम्बरको कारसहित पक्राउ परेका हुन् । उनलाई सूचनाका आधारमा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनले आफू सञ्चालक रहेको भनेका फार्महरू भौतिक रूपमा सञ्चालन नभएको पाइएको छ ।

उनले विभिन्न व्यवसायीलाई फरक-फरक पहिचान दिएर ठगेको पाइएको छ । काठमाडौंका शोभाकान्त बस्याल आफूलाई ईश्वरीप्रसादले सेनाको ठेकेदार भन्दै ठगेको बताउँछन ।उनले भने, “मेरोमा आएर सेनाको ठेकेदार हुँ, सामान जरुरी छ भनेर ६ लाख बढीको ओखती साबुन लगेर चेक दिनुभयो । चेक साटिएन । पछि दिन्छु दिन्छु भने, तर सम्पर्कमै आउन नखोज्ने ।”

यसअघि, उनले कपिलवस्तु नगरपालिका–१, मालटोलस्थित एक मार्टबाट गएको असार १८ गते ५० हजार रुपैयाँबराबरकोे किराना र कस्मेटिक सामान लगेका थिए । उनले सो क्रममा गौमुखी फिड इन्डष्ट्रिज एन्ड ट्रेडलिंकको प्रोपराइटर बताउँदै सो सामानको रकम चेकबाट साट्न दिएका थिए । सो रकम लिन जाँदा खातामा रकम नभएको पाइएको थियो । उनीविरुद्ध ठगी मुद्दा दर्ता भई अनुसन्धानकार्य जारी थियो । उनीविरुद्ध इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीमा ०५७ असोजमा सार्वजनिक ऐनअन्तर्गतको मुद्दा दर्ता भएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलमै ०६९ पुस १६ गते तत्कालीन साइन डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयका लेखा प्रमुख भुवन पन्थलाई फोन गरी ‘म माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ हुँ’ भनी कामको सिलसिलामा एक/एक घण्टाका लागि रकम आवश्यक परेको भन्दै नबिल बैंकको नक्कली खाता पीडितलाई दिई सात लाख ठगी गरेको पाइएपछि ठगी मुद्दा दर्ता भई अनुसन्धानपछि जेल चलानसमेत भएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा ०७३ मंसिर ७ गते राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै एक लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।महानगरीय प्रहरी परिसर काठमाडौंमा ०७८ पुस ७ गते आफ्नो बैंक खातामा नभएको रकम ५० लाखको चेक काटी दिएकोमा उक्त रकम बैंकमा लिन जाँद चेक बाउन्स भएपछि बैंकिङ कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस