रेखा थापाको विवाह बारे पूर्वपति छविराज ओझाले खुशी ब्यक्त गर्दै दिए यस्तो प्रतिक्रिया

नायिका रेखा थापाका विवाहप्रति उनका पूर्वपति छविराज ओझाले खुसी व्यक्त गरेका छन् । रेखाको विवाहको खबर सुनेलगत्तै आफुलाई खुसी लागेको उनले प्रतिक्रिया दिए । छविले एक अनलाइनसँगको कुराकानीमा भने, ‘मैले भर्खर समाचार हेरेर उनको विवाह थाहा पाए । उहाँले आफ्नो जीवन साथी चुन्नु भएछ, म एकदमै खुसी छु ।’

छविले रेखालाई वैवाहिक जीवनको शुभकामना दिँदै बधाई समेत दिएका छन् । उनले भने, ‘मैले भर्खर विवाहको बधाई पनि दिए । हामी छुट्टिएको धेरै समय भैसकेको थियो । उहाँ एक्लै हुनुहुन्थ्यो । बल्ल जीवन साथी पाउनुभयो ।’ विवाहपछि रेखाको जीवन अझ सहज हुने छविले विश्वास व्यक्त गरे ।

आइतबार नायिका थापाले काठमाडौं जिल्ला अदालतमा केही पहिले नै कानुनी रुपमा जाजरकोटका बलराम शाहीसँग बिहे गरेको खबर बाहिर आएको थियो । बलराम अमेरिका निवासी व्यवसायी हुन् । रेखा र बलराम विगत एक वर्षदेखि गहिरो प्रेममा थिए ।

रेखाले एक अनलाइनसँगको कुराकानीमा आफूले कानुनी रुपमा विवाह गरेको पुष्टि गर्दै मनमिल्ने साथी भेटेपछि दुवै परिवारको सहमतिमा विवाह गरेको जानकारी दिएकी छन् । रेखाले केही वर्षदेखि आफू विवाह गर्ने सोचमा रहेको बताउँदै २०७८ वा २०२९ भित्र विवाह गर्ने बताउँदै आएकी थिइन् । बलराम पर्यटन व्यवसायी हुन् ।

फिल्म ‘हिरो’ बाट अभिनय करिअर सुरु गरेकी रेखाले त्यसपछि करीब डेढ दशक नेपाली फिल्ममा एकछत्र राज गरेकी थिइन् । उनको नाम मात्रैले पनि फिल्म सुपरहिट हुन्थे । कुनै बेला उनको टक्कर हिरोइनसँग नभइ हिरोसँग हुने गरेको थियो । अभिनेत्रीसँगै गायिका, निर्देशक, निर्मात्री, राजनीतिज्ञको रुपमा समेत आफूलाई चिनाएकी रेखा चाँडै नयाँ फिल्म निर्माणको तयारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस