तीन कलिला विद्यार्थीसहित एकै वडाका चार जनाको मृत्युले शोकमा डुब्यो पाटन

काठमाडौं :बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ । सोमबार अपराह्न यहाँ भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो । सोमबार बिहान १० बजे विद्यालय गएर अपराह्न ४ बजे घर फर्किरहेका ७ जना विद्यार्थीमध्ये तीन जना कहिल्यै नफर्किने गरी अस्ताएका छन् भने कोही अस्पतालको शय्यामा जीवनमरणको दोसाँधमा छन्।

दुर्घटनामा पाटन नगरपालिका–३ गौरीशंकरस्थित सिगास माध्यमिक विद्यालयमा अध्ययनरत १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी तथा स्थानीय ४५ वर्षीय जनकराज पन्तको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय (बैतडी) का प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

दुर्घटनामा विद्यार्थीको मृत्यु भएकाले यहाँका शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । नगरपालिकाले एक सूचना जारी गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

सोमबार अपराह्न भएको टिपर दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका क्रममा अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र पाटन नगरपालिका–३ कै ४५ वर्षीय जनकराज पन्त रहेका छन् । राजेन्द्रको उपचारका क्रममा डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो भने अन्य तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा गम्भीर घाइते भएका अर्का विद्यार्थी १२ वर्षीय राजेश प्रसाद पन्तको भने डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सोही दुर्घटनामा परेर अन्य पाँच घाइते भएका छन् । घाइते हुनेहरूमा पाटन नगरपालिका–३ कै २० वर्षीय सन्दीप विष्ट, १२ वर्षीय सुनिल भट्ट, १२ अमित विष्ट, १२ सुदीप पन्त र महेशप्रसाद पन्त रहेका छन् । उनीहरूमध्ये सन्दीपको अवस्था गम्भीर रहेकाले धनगढी सिफारिस गरिएको छ भने अन्य चार जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा मृत्यु भएका तीन जनाको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ भने राजेन्द्रको शव डडेल्धुरा अस्पतालमा रहेको छ । गुजरबाट पाटनतर्फ आइरहेको बा३ख ४८७९ नंको टिपर सोमबार अपराह्न भित्री सडकमै पर्ने झाडीमालीमा दुर्घटनामा परेको हो । विद्यालय छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टिपरमा चढेर आउन लागेका बेला दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त टिपर सडकबाट ३०० मिटर तल खसेको थियो । दुर्घटनालगत्तै घाइते र मृतकको उद्धार स्थानीय र प्रहरीले गरेका थिए ।

टिपरका चालक रमेश विष्ट प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस