युक्रेनमा रुसी आक्रमणबारे प्रधानमन्त्री देउवा र अमेरिकी विदेश मन्त्री ब्लिन्केनबीच कुराकानी

विदेश मन्त्री एन्टोनीले ट्वीट मार्फत आफू र नेपालका प्रधानमन्त्री देउवाबीच कुराकानी भएको जानकारी गराउनुभएको छ । उहाँहरुबीच हिजो बेलुकी कुराकानी भएको हो ।एन्टोनीले ट्वीटमा रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रति आफूहरुको समर्थनबारे प्रधानमन्त्री देउवासँग कुराकानी भएको भन्दै आफूहरु आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम काम गर्ने उल्लेख छ ।

यसैबीच राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपालले युक्रेनको पक्षमा भोट भोट हालेको छ । जेनेभामा भएको परिषदको बैठकमा राष्ट्रसंघका लागि युक्रेनका राजदूतले रूसी आक्रमणपछि युक्रेनमा भएको मानव अधिकारबारे आपतकालीन छलफल गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो ।परिषद सदस्य रहेको रूसका प्रतिनिधिले यस्तो छलफल जरूरी नरहेको बताउपछि प्रस्तावमाथि मतदान भएको हो ।

मतदानका क्रममा नेपालले युक्रेनको प्रस्तावमाथि छलफल हुनु पर्ने पक्षमा भोट दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रस्तावको पक्षमा २९ र विपक्षमा पाँच भोट पर्यो भने १३ देश अनुपस्थित रह्यो । चीनले युक्रेनी प्रस्तावको विपक्षमा मतदान् गर्यो भने भारत मतदानमा सहभागी भएन ।

बहुमतले पारित भएको प्रस्तावमाथि बिहिबारदेखि छलफल शुरु हुनेछ । रूसले युक्रेनमाथि आक्रमण गरेकै दिन नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर रूसी कदम संयुक्त राष्ट्रसंघको बडापत्रविपरीत रहेको बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस