वैदेशिक रोजगारीले निम्त्याएको विपत्ति, नवलपुरका ३ सयले गुमाए विदेशी भूमिमा ज्यान

नवलपुर । कावासोती–८ का ४० वर्षीय भीमलाल परियार तीन महिनाको छुट्टी सकेर गत कार्तिकमा साउदीअरब गए । त्यहाँ पुगेको एक महिनामै सुतिरहेको बेला उनको निधन भयो । निधनको कारण नखुलेपनि ह्दयघात भएको बताइएको छ ।

घर परिवार राम्रै चलेको थियो । लहरीमा चालक थिए आम्दानी पनि राम्रै थियो । गाउँघरमा दुखसुख पर्दा सरसापट दिने र सरसापट सजिलै पाउने भएका थिए । सानो घर बनाएका थिए ।

अब अन्तिम पटक गएर अब गएको पैसाले एउटा हाइस किनेर नेपालमै आफै मालिक भएर काम गर्ने अन्तिम इच्छा बोकेर पहिला नै काम गरेको कम्पनीमा फेरि साउदी गएका थिए । तर उनको सपना, सपनै रह्यो ।

३ महिनाको घर छुट्टी सकेर उनी तेस्रो पटक साउदी फर्किका थिए । यस पटकको कमाईले हाइस किन्ने र नेपालमै आफ्नै हाइसमा चालक भएर हिड्ने । उनको सपना पुरा हुन कम्तिमा दुई बर्ष विदेशी भूमिमा श्रम गर्नु थियो । उनको यो अन्तिम इच्छा भने विदेशी भूमिले पुरा गर्न सकेन ।

नेपालबाट साउदी गएको करिब एक महिनामा अर्थात गएको मंसिर ४ गते उनको सुुतिरहेको अवस्थामा निधन भयो । उनको मृत्युको कारण नखुले पनि उनलाई हृदयघात भएको आशंका गरिएको छ । उनको शव एक महिना पछि नेपाल आयो ।

श्रीमती, एक छोरी, एक छोरा बुहारी र एक नातिनीसँग नेपालमै बसेर हाँसीखुसी जीवन काट्ने उनको चाहाना कहिलै पुरा नहुने गरी भिमलाल परियार सदाका लागि यस धर्तिबाट विदा भए ।

उनको परिवार अहिले जेनतेन चलेको छ । परिवारकी २० बर्षीय छोरी टिकामाया परियार भन्छिन् – बाबा भएजस्तो कहाँ हुन्छ र ? बाबा हुँदा जस्तो सजिलो छैन घर चलाउन ।

भिमलाल विदेश जानु अघि गरेको विमा र श्रम वापतको २१ लाख रकम सामी परियोजना कावासोती नवलपुरका सहयोगबाट उनको परिवारले पाए अहिले त्यही भरमा उनको परिवार चलिरहेको छ । घर चलाउने जिम्मा उनीकी २० बर्षीया जेठी छोरी टिकामाया परिवारको काँधमा आएको छ ।

त्यसैगरी कावासोती नगरपालिका १० मगरकोट निवासी ३४ बर्षीय केशवप्रसाद महतो पनि एउटा सानो पक्की घर बनाउने सपना देखेर अन्मित पटक विदेश हानिएका थिए। उनी यस अघि मलेसिया र बहराइन गएका थिए । यस पटक भने उनी साउदी गएका थिए ।

मलेसिया जाँदा ३ दाजुभाई मिलेर ८ का अर्थात आफ्नो भागमा करिब ३ का जमिन जोडेका केशवप्रसाद महतोले बहराइन जाँदा भने खासै सम्पत्ति जोड्न सकेनन् । महतोका ५९ बर्षीय बुवा पृथ्वीराम महतो भन्छन् । दोस्रो पटक जाँदा गएको ऋण तिर्ने र अलिअलि घर खर्च चलाउने भन्दा खासै उपलब्धी भएनन् ।

यस पटक सानो पक्की घर बनाउने गरी साउदी गएका केशवको डेढ महिनामा अर्थात २०७८ पुस २२ गते सुतिरहेकै अवस्थामा निधन भयो । उनको करिब १५ दिन अघि शव नेपाल आईपुगेको हो ।

एक श्रीमती र ११ बर्षीया र ५ बर्षीया दुई छोरी रहेका महतोको घरमा अहिले घरको कमाउने मुख्य मान्छे गुमाएपछिको पीडाले निक्कै समस्या जन्मिएको छ । उनीकी श्रीमतीको आँखाको आँशु अझै सुकेको छैन । श्रीमती खेमकुमारी महतो भक्कानिदै भनिन् – श्रीमान्ले अब सानो घर बनाउँला अनि नेपालमै केही गरेर दुखसुख जीवन काटौंला भन्नुहुन्थ्यो ।

केशवप्रसाद महतोका बुवा पृथ्वीराम महतो भन्छन् ( नातिनीहरु सानै छन् । बुहारी अझै रुदै हिड्छिन् । विमा र श्रम वापतको रकमबाट बुहारीलाई केही व्यवसाय पसल राखिदिउँकी भनेर सोचेको छु ।

पृथ्वीका ५ भाई छोरा छन् ति मध्ये कान्छो छोरा लिलाप्रसाद महतो सशस्त्र प्रहरीमा नेपालमै जागिरे छन् भने बाँकी चार भाई पटक पटक वैदेशिक रोजगारीका लागि विदेसिएका छन् । ५ भाइमध्ये काइलो छोरा विष्णुप्रसाद महतो साउदीमा छन् । उनी यस अघि मलेसिया गएका थिए ।

पृथ्वीका जेठा छोरा तिलकराम महतो मलेसिया र दुवई गएर अहिले नेपालमै सिकर्मी काम गरेका छन् भने माइला छोरा मोहनप्रसाद महतो मलेसिया र कतार गएर अहिले घरमै कार्पेन्टरको काम गरिरहेका छन् ।
नवलपुरका १२ जनाको वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउँदा २ जनाको कोरोनाको कारण निधन भयो ।

कावासोती ७ साँढ, रामनगर निवासी ३९ बर्षीय कोपबहादुर थनेतको २०७८ साउन ३२ गते कोभिडको कारण मलेसियामा निधन भयो । उनको अस्तु मात्र नेपाल आइपुग्यो । मलेसियामै नवलपुरका गैडाकोट २ निवासी प्रदपकुमार मल्लले पनि कोभिडकै कारण ज्यान गुमाए । उनको पनि अस्तु मात्र नेपाल आइपुग्यो ।

विभिन्न सपना बोकेर, घरपरिवारको इच्छा चाहाना पुरा गर्न विदेशिने धेरै नेपाली नागरिकको सपना पुरा नुहँदै घरको कमाउने मान्छे सदाका लागि गुमाउनु परेको यथार्थ कथा धेरै नेपालीको घरमा छ ।

केशव प्रसाद महतो र भीमलाल परियार एउटा प्रतिनिधि पात्र मात्रै हो । नवलुरमा यस बर्ष अर्थात २०७८ साउन यता १२ जनाले ज्यान गुमाइसकेका छन् ।

नवलपुरका गत आर्थिक बर्षमा पनि १४ जनाले गत बर्ष वैदेशिक रोजागारीको क्रममा ज्यान गुमाएको सामी परियोजनाका संयोजक ऋतुराम सोतीले बताए । सोतीका अनुसार पछिल्लो आठ बर्षमा नवलपुरबाट वैदेशिक रोजगारीमा गएका करिब ३ सय जनाको निधन भएको छ ।

घरको कमाउने मान्छे गुमाउँदा त्यो परिवारलाई शोकले मात्र छुदैन, आर्थिक विपत्तिले पनि छुन्छ । हास्दै खेल्दैको परिवार एक्कासी वियोग र अभावको भुमरीमा जगडिन पुग्छ ।

त्यसो त परिवार गुमाउने मात्र होइन, विदेशमै वेपत्ता हुने, वैदेशिक रोजगारीको क्रममा जानु अघि नै दलालबाट ठगिने, सम्झौता अनुसारको काम र तलब नपाएर ठगिने पनि उस्तै कहाली लाग्दा तथ्यांक छ नेपालमा ।

परिवार समालिनै गाह्रो

जीवनभर खुसदुख गरुला भनेर बनेको जीवन साथी त्यो पनि परिवारकै खुसीका लागि बर्षौसम्म विदेसिनु त्यसमा पनि विदेशमा निधन भएपछि कसको परिवार शोकमा डुब्दैन र ।

विमला श्रेष्ठको अनुभवमा कति पय ६÷७ महिनामा आफूलाई सम्हालेर बालबच्चा र छोराछोरीको भविष्य सम्झेर सानोठूला व्यापार व्यवसाय सीप सिकेर काम गर्ने गरेका छन् भने कतिपय २ बर्षसम्म चिन्तामा डुबेर बस्ने गएका छन् ।

वैदेशिक रोजगारीमा निधन भएकाको परिवारमा सबैभन्दा बढी श्रीमती तनावमा हुने डिप्रेसनमा जाने सम्भवना हुने गर्दछ । त्यसका लागि सामी परियोजनाले १५ दिन वा महिना महिना दिनमा घरमै मनोसामाजिक परामर्शदातालाई पठाएर परामर्श दिने काउन्सिलि· गर्ने गर्दछ ।
दाउन्ने न्युज बाट

प्रतिक्रिया दिनुहोस