मोसो दल्दै जुत्ताको माला लगाइदिएर शिक्षकमाथि दुर्व्यवहार

खोटाङ, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारीले खोटाङमा शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् ।लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय जाने, पढाउन जाँदा कक्षामै सुत्ने गरेको आरोप लगाउँदै अनेरास्ववियु क्रान्तीकारीले बुधबार खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरी नरहास्थित पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई सार्वजनिकस्थलमा मोसो दल्दै जुत्ताको माला लगाइदिएका हुन् ।

सुध्रनका लागि पटक-पटक दिइएको चेतावनीको बेवास्ता गरेको तथा गाउँपालिकाको शिक्षा शाखामा उजुरी गर्दा उल्टै बचाउ गरेकाले कारबाही गरिएको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तीकारीका प्रदेशसभा सदस्य तावेल राईले बताए ।

अनेरास्ववियु क्रान्तिकारीले शिक्षक राईलाई खोटेहाङ गाउँपालिकाको रोक्सिङभञ्ज्याङस्थित कोठाबाट बाहिर निकालेर सार्वजनिकस्थलमा दुर्व्यवहार गरेको हो । शिक्षकमाथि दुर्व्यवहार भएको विषयमा जानकारी आएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए। विगत आठ वर्षदेखि प्रधानध्यापकको भूमिकामा रहेका शिक्षक राई केही महिनाअघि मात्र साे जिम्मेवारीबाट हटाइएका थिए ।

प्रतिक्रिया दिनुहोस