एमसीसी अनुमोदनपछि गिरिराजमणि न प्रशिक्षण दिन्छन् न त केही बोल्छन्

‘विभिन्न द्वन्दकाबीचमा पनि मनलाई शान्ति राख्नु पर्ने रहेछ ।’ केही दिनअघि लुम्बिनी बौद्ध विश्वविद्यायल र वर्दिबासबीचको शैक्षिक सहकार्यसम्बन्धी एक कार्यक्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा महोत्तरीका जनप्रतिनिधि गिरिराजमणि पोखरेलले भनेका थिए ।

व्याख्यात्मक घोषणासहित उनको पार्टी माओवादी केन्द्रले एमसीसी अनुमोदनमा साथ दिएपछि नेता नारायणकाजी श्रेष्ठसहित गिरिराजमणि पोखरेलले फरक मत राखेका थिए । पार्टीले ह्विप जारी गर्दा पनि पोखरेलसहितका नेताहरू त्यसविरुद्धमा गएका हुन् । नेता पोखरेलले अहिले पनि एमसीसी राष्ट्रघाति भएको दोहोराइरहेका छन् ।

नेता पोखरेल पक्षका कतिपय ‘विश्वास पात्र’ भनिएकाहरूले पार्टीनै परित्याग गरिसकेका छन् । महोत्तरीका संयोजकसहित पुराना नेता तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य राजन ढुंगाना, महिला नेतृ उर्मिला कार्की, नेता रामबहादुर राणा र नरबहादुर खनालले पार्टी छाडेको घोषणा गरिसकेका छन् ।

तर, गिरिराजमणि पोखरेल भने पार्टीले आयोजना गरेको महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । नेता पोखरेललाई स्थानीय संचारकर्मीहरूले कहिलेकाही घेराबन्दी नै गर्छन । एमसीसीसहित पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया लिन खोज्छन् । तर, उनी न एमसीसीको बिषयमा केही बोल्छन् न त आफ्ना कार्यकर्ताले साथ छाडेको बिषयमै केही भन्छन् । यस बिषयमा अहिले नबोल्ने भन्दै पन्छिन्छन् । साथै जिल्ला तहका नेता, कार्यकर्ताहरूको मनोबल उच्च बनाउन न नेता पोखरेलले कुनै प्रशिक्षणनै दिन सकेका छन् ।

‘बाहिरबाट हेर्दा पार्र्टीकै एजेण्डामा हिँडिरहेको देखिए पनि पोखरेल सन्तुष्ट छैनन् । निर्वाचनमा माहोल नबिग्रियोस् भनेर पार्र्टीभित्रै बसेर संघर्ष गरिरहनु उनको बाध्यता छ ।’ उनी नजिकका एक नेताले भने ।चुनाव केन्द्रित कार्यक्रममा व्यस्त बनेका नेता पोखरेल महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी बनिरहेका छन् । बिहीवार मात्रै पनि भंगाहा नगरपालिकास्थित सुकुम्बासीमा बस्तीमा पुगेर कोष खडा गर्न एक महिनाको पारिश्रमिक नै दिने घोषणा गरे ।

अघिल्लो निर्वाचनभन्दा यो निर्वाचनमा नेता पोखरेलले निक्कै मेहनत गरिहेका छन् । जनताको घरदैलोमै पुगेर जिल्लाका दुर्गम गाउँमा पुगेर समस्या पहिचान गर्न उनले केही महिनाअघिस अभियान नै चलाएका थिए ।

लगातार महोत्तरीवाट संघीय संसदमा सांसद बनिरहेका नेता पोखरेल दुई पटक मन्त्री बनिसकेका छन् । उनी एक पटक स्वास्थ्य र जनसंख्या र दोस्रो पटक शिक्षा तथा विज्ञा मन्त्री बनेका थिए ।जिल्लाको उत्तरी क्षेत्र माओवादी केन्द्रको गड नै मानिन्छ तर एमसीसीको विवादले यहाँ पनि माओवादी केन्द्र दुई कित्तामा उभिएको छ ।एकपक्षले ब्याख्यात्मक घोषणासहित भएको एमसीसी अनुमोदनलाई स्वीकार गरिसकेको छ भने अर्काे पक्षले अहिले पनि राष्ट्रघाति भएको भन्दै पार्टीको कदमको विरोध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस