दुवईबाट मलद्वारमा १२ सय ग्राम सुन लुकाएर ल्याउने युवा त्रिभुवन विमानस्थलबाट पक्राउ

दुवईबाट काठमाडौं आएका भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । भारतको पञ्जाब घर भएका शुभम् मेहरा सुनसहित पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखा र विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले मेहराले मलद्वारमा लुकाएर ल्याएको १२ सय ७० ग्राम सुन बरामद गरेको छ ।

नेपाल वायुसेवा निगमको जहाँबाट काठमाडौं ओर्लिएका उनलाई शंका लागेर चेकजाँच गर्दा मलद्वारभित्र सुन फेला परेको थियो ।
धुलो सुनको डल्लो बनाएर उनले मलद्वारमा लुकाएका थिए ।रातोपाटी बाट

काठमाडौंको फोहोर उठाइसक्न दुई हप्तासम्म लाग्ने
चैत, काठमाडौं । फागुन महिनामा मात्रै काठमाडौंमा १९ दिन फोहोर उठ्न सकेन । १ फागुनदेखि तीन पिप्लेका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै १२ दिन अवरोध गरेका थिए । फेरि फगुनको अन्तिम साता सिसडोल र बञ्चरेडाँडाका स्थानीयले एक हप्ता फोहोर फाल्न रोकेका थिए ।

झण्डै तीन हप्ता काठमाडौं उपत्यकाबाट फोहोर उठ्न नसकेपछि अहिले पनि धेरै ठाउँमा थुप्रो लागेका छन् । नियमित रुपमा पूर्ण क्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब दुई हप्ता लाग्ने महानगरपालिकाको अनुमान छ ।

महानगरपालिकाको वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार करिब २०० सवारीले नियमित रुपमा नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा फोहोर लगिरहेका छन् । उनका अनुसार नियम रुपमा फोहोर उठाउन अवरोध नभएमा एकदेखि दुई हप्ताभित्र उपत्यकाको फोहोर सिसडोलमा बिर्सजन गर्न सकिने छ ।

‘यहाँबाट फोहोर लगेर मात्रै हुँदैन,’ उनले भनिन्, ‘त्यहाँ फोहोर लागेर मिलाउनुपर्छ, पुर्नुपर्छ, ल्यान्डफिल साइटमा दुई वटा मात्रै हेभी मेसिन भएकाले चाहेर पनि धेरै फोहोर लैजान सकिन्न ।’ सुरुमा सडकमा थुप्रिएको सबै फोहोर उठाउने र त्यसपछि घर–घरबाट नियमत फोहोर संकलन गर्ने महानगरको योजना छ ।

श्रेष्ठका अनुसार ‘टाइम कार्ड’ लागू गर्ने निर्णय भएकाले योजनाअनुसार एकैदिनमा धेरै फोहोर लैजान कठिन हुनेछ । स्थानीयले माग गरेबमोजिम विहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै ल्यान्डफिल साइटमा फोहोर बोकेका गाडी जान पाउनेछन् ।

हाल उपत्यकाभर १५ देखि २० हजार टन फोहोर थुप्रिएको महानगरपालिकाको वातावरण विभागको अनुमान छ । तर, दैनिक करिब १ हजार टन मात्रै फोहोर ल्यान्डफिल साइट लैजान सम्भव छ ।

सरकारी तथ्यांकअनुसार सामान्य अवस्थामा काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसतमा १ हजार ५४ टन फोहोर सिसडोलमा पुग्ने गरेको छ । काठमाडौंबाट दैनिक औसत ५१७ टन र ललितपुर महानगरपालिकासहित आसपासका नगरबाट ५३७ टन फोहोर उठ्नुपर्ने हो ।

ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्यान्डफिल्ड साइटमा पुर्‍याउने गरिएको छ । उपत्यकाको गोकर्णेश्वर नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । नागार्जुन, टोखा, तारकेश्वर र बूढानीलकण्ठ नगर क्षेत्र हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ ।

चन्द्रागिरि, महालक्ष्मी र मध्यपुर थिमि नगर क्षेत्रबाट दैनिक ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । गोदावरी र सूर्यविनायक नगर क्षेत्रबाट २५/२५ मेट्रिक टन, कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन तथा दक्षिणकाली र चाँगुनारायण नगर क्षेत्रबाट १५/१५मेट्रिक टन फोहोर संकलन हुने गरेको छ । शंखरापुर नगर क्षेत्रमा ८ मेट्रिक टन र सबभन्दा कम कीर्तिपुर नगरमा दैनिक ६ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ ।

उपत्यकाका महानगरपालिका र नगरपालिकाबाहेक नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगर क्षेत्रको फोहोर पनि सिसडोल ल्यान्डफिल साइटमा आउने गरेको छ । पटक–पटक अवरुद्ध भएकाले फोहोर उठाउने चक्र नियमित हुन केही महिना लाग्ने अवस्था रहेको महानगरपालिकाका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस