चुनावपछि एमालेको सरकार बन्छ, सुकुम्वासीले पुर्जा पाउँछन – ओली

भैरहवा,चैत।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकासका काम देख्न नसकेर बिरोहीहरुले आफू नेतृत्वको सरकार ढालेका तथ्य राख्नुभएको छ । रूपन्देहीको तिलोत्तमा शंकरनगरस्थित बहुउद्देश्यीय टावरको मंगलबार उदघाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले एमालेले गरेका जनपक्षीय कामलाई रोक्न सरकार ढाले पनि पूर्ववर्ती सरकारको कामको जस गठबन्धन सरकारले लिन खोजेको बताउनुभयो ।

एमालेले गरेका काम देखाएर विरोधीहरुले जनतामा भ्रम छर्न सक्ने भन्दै उहाँले सचेत हुन नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो । आफू नेतृत्वको सरकारले अघि सारेका विकासका पूर्वाधार बन्दै गएपछि विरोधीहरु आत्तिएका उहाँले बताउनुभयो । एमाले सरकारमा नपुगेको भए विकासको गति अगाडि बढ्न नसकेको अवस्था हुने पनि अध्यक्ष ओलीले सुनाउनुभयो । एमाले अरु लोकप्रिय हुने डरले गठबन्धन सरकारले विकासका आयोजना काटेको, सुकुम्बासी आयोग खारेज गरेको पनि अध्यक्ष ओलीले बताउनुभयो ।

देशभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउने काम अन्तिम चरणमा पुगेका बेला गठबन्धन सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेर उनीहरुको छातीमा प्रहार गरेको उहाँको भनाइ छ ।

चुनाव नजिकिँदै जाँदा आयोगको फाइल हरायो भनेर गठबन्धन सरकारले जनतामा भ्रम छर्न खोजेको पनि उहाँले बताउनुभयो । ‘सुकुम्बासी आयोग खारेज गर्यो, अहिले फाइल हरायो भन्दै छ यो गठबन्धन सरकार, फाइल खोज्न दिल्ली जाँदैछन भन्ने सुनेको छु,’ अध्यक्ष ओलीले भन्नुभयो ।

सुकुम्बासीका समस्या एमालेले मात्र पूरा गर्ने भन्दै उहाँले केही महिना प्रतिक्षा गर्न आग्रह गर्नुभयो ।

आगामी चुनावपछि एमालेले सरकारको नेतृत्व गर्ने र सुकुम्बासीका हातमा पूर्जा दिने अध्यक्ष ओलीको भनाई छ । आफू नेतृत्वको सरकारले विकास र समृद्धिका लागि अभूतपूर्व काम गरेको पनि अध्यक्ष ओलीले बताउनुभयो ।

सुकुम्बासी आयोग बनाएर काम अन्तिम चरणमा पुर्याएको, कालापानीलाई नक्सामा समेटेर चुच्चे नक्सा जारी गरेको, आकाश अर्थात अन्तरिक्षमा पनि नेपालको अधिकारी सुनिश्चित गरेको,समृद्धमा पहुँच पुर्याएको, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम गरेको, कतिपय ठाउँमा रात्रिकालीन उडानको सुरुआत गरेको यस्ता थुप्रै काम आफू नेतृत्वको सरकारले गरेको जानकारी अध्यक्ष ओलीले दिनुभयो ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा एमालेले मात्र पूरा गर्ने भन्दै उहाँले नेपालमा रहेको स्रोत साधनको उपयोग गरेर देशलाई समृद्ध बनाउन सकिने बताउनुभयो । पर्यटकीय योजनाबाट समृद्धिका आधारहरु तय गर्न सकिने भन्दै उहाँले भगवान गौतम बुद्धको प्रचारमा जुट्न पनि आग्रह गर्नुभयो ।

सबै वस्तुको आयात भइरहेको भन्दै उहाँले त्यसलाई नियन्त्रण गर्नका लागि उत्पादनतर्फ केन्द्रित हुन पनि उहाँले सबैलाई आव्हान गर्नुभयो ।

अध्यक्ष ओलीले गठबन्धन सरकाले देशको अर्थतन्त्र डामाडोल पारेको फेहरिस्तसमेत सुनाउनु भयो ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीलेत तिलोत्तमा नगरपालिकाले गरेका कामको प्रशंसा गर्नुभयो । तिलोत्तमाको कामको प्रेरणा सबैले लिनुपर्ने अध्यक्ष ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस