ओलीले फेरि पूरानो बोली दोहोर्याए- ‘प्रचण्ड कम्युनिष्ट हुन् भने म होइन’

काठमाडौं । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छेले वामपन्थीको परिभाषा बुझ्न नसक्दा समस्या भएको बताएका छन् । सोमबार एमालेनिकट प्रगतिशील इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) नवौं महाधिवेशनमा वामपन्थी भन्नेबित्तिकै प्रचण्ड सम्झिँदा समस्या भएको अध्यक्ष ओलीले बताएका हुन् ।

उनले भने, ‘म त वामपन्थी त हुनै सक्दिन । वामपन्थी उस्ले बुझेकै छैन । अलिकति के भो त वामपन्थी भन्नेवित्तिकै प्रचण्ड सम्झिन्छ अनि कसरी हुन्छ ? हुने कुरै भएन नि !’

अध्यक्ष ओलीले यसअघि बोलेको कुरा पुनः दोहोर्याए । उनका अनुसार यदि प्रचण्ड कम्युनिष्ट हुन् भने आफू ओली कम्युनिष्ट होइनन् । ‘मैले पोहोर पराल एक पटक भनेको थिए– यदि प्रचण्ड भन्ने मान्छे कम्युनिष्ट हुन् भने म कम्युनिष्ट होइन । म कम्युनिष्ट हुँदा प्रचण्ड कम्युनिष्ट हुनै सक्दैनन् । यो त सम्भव नै छैन नि दुइटै एउटै हुने कुरा कसरी हुन्छ ? उहाँ द्वन्द्व गर्नुहुन्छ म शान्ति पक्षमा, उहाँ जात जात भिडाउनुहुन्छ म मिलाउन खोज्छु,’ उनले भने ।

यसअघि अध्यक्ष ओलीले भूमिगत मान्छे देख्नेवित्तिकै टाई लगाएको मान्छे देख्यो भने त्यो आफ्नो मान्छे नभएको भन्दै माओवादीमाथि व्यंग्य गरे । ‘भूमिगत मान्छेले टाइ लगाएको मान्छेलाई यसो हेर्यो भने हाम्रो मान्छे होइन कि क्या हो भनेर त्यो खालको मेन्टालिटी बनाउछ । यसका खालको मेन्टालिटी अब हामीलाई चल्दैन । देश चलाउनलाई टाइ लगाएका मान्छे, कुर्था सुरुवाल लगाएका मान्छे, दौरा सुरुवाल लगाएका मान्छे, विभिन्न प्रकारका टोपी लगाएका मान्छे यी सबैसँग हाम्रो एक्सेस पुग्नुपर्दछ । र, राष्ट्र निर्माणमा सबैलाई मोबिलाइज गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस