याे सरकार तुरुन्तै ढल्नुपर्छ, नत्र देश बरबादीतिर धकेलिन्छ : अध्यक्ष ओली

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने दाबी गर्नुभएकाे छ । आज बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताउनुभएको हो । उहाँले बैंकसँग पनि लगानीका लागि दिने पैसा नभएकाले देश सङ्कटमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खल्तीमा कसैको पैसा हुँदैन, बैंक त्यसै कारण खोलेका हुन् । कुनै पनि नयाँ उद्योग, व्यवसाय सुरु गर्दा बैंकबाट लोन लिनुपर्छ । अहिले नयाँ लगानीका लागि कुनै सम्भावना छैन किनभने बैंक पैसा दिन सक्दैन । बैंक पैसा दिन सक्ने अवस्थामा छैन । यो सरकार तुरुन्तै, तुरुन्तै, तुरुन्तै ढलेन भने जति दिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ ।’

अध्यक्ष ओलीले गठबन्धन सरकार कुहिएर झर्ने कटाक्ष पनि गर्नुभयाे । उहाँले सरकार ढाल्न आफूहरूले कोसिस नगर्ने स्पष्ट पार्नुभयो । एमालेले सरकारमा नभइ चुनावमा ध्यान दिइरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेको यो गठबन्धन सरकार कुहिएर झर्ने बेलातिर जाँदैछ । यो झर्छ । यो सरकार ढाल्न हामी कोसिसै गर्दैनौँ । त्यसो भएर हामी अहिले सरकारको बारेमा कतै ध्यान दिइराखेको छैनौँ । चुनावमा ध्यान दिइराखेका छौँ ।’

अध्यक्ष ओलीले स्थानीय तह चुनावसम्म गतिका साथ पार्टीका काममा खट्न नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस