३ महानगरमा गठबन्धनका ५ दल मिल्दा पनि एमालेलाई हराउन कठिन, यस्तो छ हिसाबकिताब

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा यतिखेर धेरैको ध्यान खिचिएको छ । यसमा पनि देशका ६ वटा महानगरपालिकामा कुन दलबाट को उम्मेदवार बन्छन् र कसले जित्छन् भन्नेमा उत्तिकै चासो छ । मुख्य सहरी क्षेत्र, प्रतिनिधिसभाका धेरै निर्वाचन क्षेत्र पर्ने भएकोले अर्को चुनावको आधारक्षेत्रसमेत हुँदा महानगरको प्रतिस्पर्धालाई निक्कै महत्वका साथ हेरिएको छ ।

२०७४ सालमा ६ मध्ये एमालेले काठमाडौं र पोखरा महानगरपालिका जितेको छ । कांग्रेसले ललितपुर र विराटनगर जितेको थियो । माओवादीलेले भरतपुर र तत्कालीन संघीय समाजवादी फोरम (अहिलेको जसपा)ले पर्साको वीरगञ्ज महानगरपालिका जितेको थियो ।

यसपटक एमालेलाई हराउन कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएरै चुनावी तालमेलको नीति लिएका छन् । सोमबारमात्रै संयुक्त विज्ञप्ति जारी गर्दै देश र ठाउँअनुसार चुनावी तालमेल गरी गठबन्धनका नेतालाई जिताउन अपिल गरेका छन् ।

कतिपय ठाउँमा तालमेल गर्दा एक अर्को दललाई अस्वीकार गर्ने क्रम देखिएपछि सत्तारुढ दलका शीर्ष नेताले हस्ताक्षर गर्दै अपिल जारी गरेका हुन् ।

तर गत स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा ६ मध्ये तीन महानगरपालिकामा गठबन्धनका पाँचवटै दल मिल्दा पनि एमालेलाई हराउन कठिन देखिएको छ । यस्तो कठिन हुनसक्ने महानगरपालिकामा कास्कीको पोखरा, काठमाडौं, चितवनको भरतपुर छन् ।

यी तीन महानगरमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग एकल भिड्दा एमालेले जित निकाल्न सक्ने देखिएको छ । काठमाडौं र पोखरामा एमालेलाई गठबन्धन एकातिर उभिँदा पनि सहज देखिएको छ । भरतपुरमा कांग्रेस र माओवादीको टसलको फाइदा एमालेले उठाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस