पार्टीभित्र ओलीलाई टक्कर दिनसक्ने एकमात्र नेता भीम रावल गम्भीर संकटमा, ओली समेत झस्किनेगरी बाहिरियो हिसाबकिताब !

काठमाडौं । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिन सक्ने एकमात्र नेताको रुपमा चिनिदै आएका भीम रावलका लागि गम्भीर संकट आएको छ । राष्ट्र र राष्ट्रियताबारे चट्टानी अडान राख्दै आएका भीम रावलका लागि गृहजिल्लाबाट झस्काउने खबर बाहिरिएको हो । एमालेभित्र अध्यक्ष ओलीको कट्टर विरोधीका रुपमा छवि बनाएका उनी अछामबाट संघीय संसदमा प्रतिनिधित्व गर्छन् ।

एमाले दशौं महाधिवेशनमा रावल अध्यक्षमा केपी ओलीसँग प्रतिस्प्रर्धा गरेका थिए । कुनै न कुनै रुपमा सञ्चारमाध्यममा चर्चामा रहने रावलको जिल्लामा एमालेको अवस्था कस्तो छ ? अछाममा १० वटा स्थानीय तह छन् । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकिएको छ । यस्तोमा ०७४ सालको स्थानीय तह निर्वाचनमा अछाममा एमालेको अवस्था कस्तो थियो, यस्तो छ तथ्यांक ।

कमलबजार नगरपालिकामा कांग्रेस–एमालेको हाराहारी प्रभाव देखिन्छ । ०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका ओमप्रकाश विष्ट ३५ सय ८७ मत ल्याएर विजयी भए । उनका प्रतिद्धन्द्धी एमाले उमेदवार दिपकप्रकाश अधिकारीले ३२ सय ७७ मत ल्याए । उपमेयर पनि कांग्रेसले नै जित्यो । कमलबजार नगरपालिकामामा माओवादीको प्रभाव सामान्य देखियो । माओवादी मेयरका उमेदवारले ४९१ मत ल्याए ।

अछामको चौरपाटी गाउँपालिकामा कांग्रेस र एमालेबीच कडा टक्कर देखिन्छ । ०७४ को निर्वाचनमा यो गाँउपालिकामा एमाले उमेदवार हर्कबहादुर साउद १ मतले विजयी भएका थिए । उनले ३१ सय ३७ मत ल्याउँदा कांग्रेसका भीमबहादुर साउँदले ३१ सय ३६ मत प्राप्त गरे । माओवादीका रामबहादुर थापाले १२ सय ६८ मत ल्याएका थिए ।

ढकारी गाउँपालिकामा कांग्रेसले जित निकाले पनि एमाले खासै पछाडि देखिँदैन । कांग्रेसका धनबहादुर बुढाले ३४ सय ५४ मत ल्याएर जित निकाल्दा एमालेको नवराज साउदले २९ सय ३० मत प्राप्त गरे । माओवादीका तुलाराम साउदले ६४८ मत ल्याए । अहिलेकै अवस्थामा कांग्रेस–माओवादी मिल्दा एमालेलाई गाह्रो हुने देखिन्छ ।

तुर्माखाद गाउँपालिकामा पनि कांग्रेसकै पकड देखिन्छ । अन्य पालिकाभन्दा यहाँ माओवादी केन्द्रको पनि प्रभाव देखिन्छ । कांग्रेसका पुष्पराज शर्मा ३६ सय ९१ मत ल्याएर विजयी भएका थिए भने एमालेका पदमबहादुर बुढाले ३ हजार ३७ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका उदयबहादुर विष्टले १५ सय ५६ मत पाएका थिए । आगामी निर्वाचनमा सत्तारुढ दलको गठबन्धन हुँदा एमाले कमजोर हुने विगतको तथ्यांकले देखाउँछ ।

पञ्चदेवल नगरपालिकामा कांग्रेसका देवराज देवकोटाले ३५ सय ५५ मत ल्याएर प्रमुखमा जित निकाले पनि एमाले र माओवादीको प्रभाव पनि बलियो देखिन्छ । ०७४ को निर्वाचनमा एमालेका नन्दबहादुर कडायतले ३ हजार ७५ मत ल्याउँदा माओवादी केन्द्रका अक्कल बहादुर रावलले २३ सय ९१ मत ल्याए । सत्तारुढ दलको गठबन्धन बने एमालेलाई यो पालिकामा सहज हुने देखिँदैन ।

प्रतिक्रिया दिनुहोस