दुवै हातमा लड्डु: श्रीमान एकीकृत समाजवादीबाट प्रदेश मन्त्री, श्रीमती एमालेबाट महानगरकाे मेयरमा सिफारिस

बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट मन्त्री रहेका वसन्त मानन्धरकी श्रीमती इन्दिरा पन्त नेकपा (एमाले)बाट काठमाडौं महानगरको मेयरमा सिफारिस भएकी छन्।

काठमाडौं महानगरपालिकाको मेयरका लागि बिहीबार एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ, जसमध्ये एक जना इन्दिरा पन्त हुन्। बिहीबार बसेको महानगर कमिटीको बैठकले मेयरमा पन्तसहित विद्यासुन्दर शाक्य, केशव स्थापित, निर्मल देउला र रामवीर मानन्धरको नाम सिफारिस गरेको हो।

सिफारिस भएकामध्ये इन्दिराका श्रीमान मानन्धर एकीकृत समाजवादी बाट बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री हुन्। उनकी पत्नी इन्दिरालाई भने एमालेले काठमाडौं महानगरको मेयरका लागि नाम सिफारिस गरेको हो। उनी एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य हुन्।

हाल उनी केन्द्रीय स्कुल विभागमा सदस्य रहेकी छन्। २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभामा रामवीर मानन्धर र प्रदेश दुवैमा एमाले विजयी भएको थियो। प्रदेश क मा ३४ मत फरकले वसन्त मानन्धर विजयी भएका थिए।

मानन्धरले ८ हजार ८ सय मत ल्याएका थिए। निकटतम प्रतिस्पर्धी कांग्रेसका विजय मालीले ८ हजार ७ सय ६६ मत प्राप्त गरेका थिए। तर वसन्त मानन्धरले एमाले विभाजनपछि समाजवादी रोजेका थिए।

प्रतिक्रिया दिनुहोस