केपी ओलीको टिप्पणी : कांग्रेस अलच्छिनजति बोकेर हिँडेको छ

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गर्नुभएको छ ।एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको टिप्पणी गरेका हुन् ।

‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो, कांग्रेस अलच्छिनजति बोकेर हिँडेको छ, कोही हाप्सिलोजस्ता छन्,’ ओलीले भने, ‘कतै जान लाग्दा अलच्छिन लगाउने गरी हाप्सिलो कराउँछ । हाप्सिलै हाप्सिलो काँधमा बोकेर कांग्रेस हिँडेको छ । योभन्दा अलच्छिन के हुन्छ ?’गठबन्धनसँगै कांग्रेस पनि सकिने ओलीको दाबी छ ।

तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्दछन् : अध्यक्ष ओली
काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा नेकपा(एमाले) केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसपटकको स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताउनुभएको हो । उहाँले विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको उल्लेख गर्दै अहिले तराई, मधेशमा एमालेको लहर आएको बताउनुभयो । मधेश प्रदेश एमालेको मजबुद गढ बनेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कब्जा गर्ने षड्यन्त्र समाप्त पार्नका लागि आफुले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभयो । दाहाल, नेपालले संगठन कब्जामा लिइसकेकाले कार्यकर्तामा अपिल गर्न जानुको विकल्प आफुसँग नरहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले पाँच दलीय गठबन्धनले झापामा राप्रपालाई साझा उम्मेदवार बनाएकाले अब यो गठबन्धन छ दलीय गठबन्धन बनेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस