एमालेलाई हराउन सक्ने तागत कोहीसँग छैन दुइतिहाइ बहुमत ल्याएर देखाउछ: पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेलाई कसैले पनि हराउन नसक्ने बताएका छन्।गुरुङले जनताको हितमा उल्लेख्य काम गर्दै अगाडी बढेको एमालेको लोकप्रियतादेखि आत्तिएर केही दलहरू गठबन्धन बनाउने तयारीमा रहेको र जनताका मत र साथले जस्तासुकै गठबन्धन आएपनि परास्त हुने बताए।

बुधबार पोखरामा आयोजित स्थानीय तह निर्वाचन केन्द्रित प्रचार भेलामा उनले एमाले सरकारका काम र उपलब्धिहरूलाई जनतासामु लैजान आफ्ना कार्यकर्ताहरूलाई आग्रह गरे।

गुरुङले एमालेका विगतका संघीय र प्रदेश एवं स्थानीय तहका जनप्रतिनिधिको काम अब्बल रहेको र अब आउने सरकारले ती कामको प्रचारसहित नयाँ विकासका योजनाका स्पष्ट मार्गचित्र प्रस्तुत गरेकोले नै देशका कुना कुनाबाट विभिन्न पार्टी परित्याग गरी विकास प्रेमी जनताहरू आफ्नो पार्टीमा समाहित हुने क्रम तीव्र बनेको जिकिर गरे।

सो अवसरमा उपमहासचिव गुरुङले कास्कीबाट पर्यटन व्यवसायी क्षेत्रबहादुर गुरुङ, सुकबहादुर परियार, शम्सेर बहादुर मौरति, राजकुमार मौरती, सन्त बहादुर बिक, विशाल परियार, भीमबहादुर गुरुङ, वीरबहादुर गुरुङ, रामजी सनिया, होमबहादुर परियार लगायत दर्जन बढी कार्यकर्तालाई एमालेमा स्वागत गरेका थिए। उनीहरू सबै नेकपा एकीकृत समाजवादी परित्याग गरी एमाले प्रवेश गरेका हुन्।

प्रचार भेलामा नेकपा एमाले गण्डकीका अध्यक्ष नवराज शर्मा, एमाले गण्डकीका उप(सचिव एवं गण्डकीका प्रचार विभाग प्रमुख रश्मि आचार्य, केन्द्रीय प्रचार विभाग सदस्य निर्मला शर्मा, गण्डकीका प्रचार विभाग उपप्रमुख पुण्य पौडेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे, सचिव सुष्मा पौडेल, प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्र पौडेल, लगायतले स्थानीय तहको निर्वाचनमा प्रचार रणनीति र गर्नुपर्ने कार्यको बारेमा प्रशिक्षण दिएका थिए।

भेलामा गण्डकी प्रदेशका जिल्ला प्रचार विभाग प्रमुखहरू, जन संगठनका अगुवा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको पार्टीको प्रदेश प्रचार तथा प्रकाशन विभागका सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस