अनुशासनको कारबाही भोग्न तयार छु, उम्मेदवारी फिर्ता लिन्न : जगन्नाथ पौडेल

काठमाडौं, १५ वैशाख । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने प्रष्ट पारेका छन् । उनलाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन पुगेका थिए । मन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, पौडेलले भने आफू निकै अघि बढिसकेको भन्दै पछि हट्न नसकिने बताएका थिए ।

मन्त्री खाँणले गठबन्धनअनुसार चितवन महानगरपालिका माओवादी केन्द्रको भागमा परेको भन्दै नोमिनेसन फिर्ता लिन आग्रह गरेका थिए । तर, पौडेलले भने बरु अनुशासनको कारबाही भोग्न तयार रहेको बताए ।

‘म फिर्ता नहुने ठाउँमा पुगिसकेको छु । चितवन जिल्ला र साथीहरूको मान मर्यादा, प्रतिष्ठा, उहाँहरूको भविश्वसँग जोडिएको विषय भएकाले मैले एक्लैले निर्णय गर्ने विषय भएन् । जसले गर्दा उम्मेदवारी फिर्ता गर्न सम्भव भएन भन्ने कुरा राखे,’ पौडेलले गृहमन्त्रीसँग भने ।

बिहानको छलफल निष्कर्षमा नपुगेपछि गृहमन्त्री खाँणले पुनः छलफलमा बस्ने बताएका थिए । पौडेलले पनि आफू कुनै पनि हालतमा आफ्नो अडानबाट पछि नहट्ने भन्दै पुनः बस्दा पनि आफ्नो अडान यही रहने प्रष्ट पारेका थिए ।

‘गृहमन्त्री खाँणसँग फेरि बस्ने भन्ने कुरा गर्नुभयो । तर, मनोनयन फिर्ता हुने विषय भने असम्भव भएको बताएको छु,’ पौडेलले भने, ‘भरतपुर महानगरको ३२ जना मेयरका दाबेदारमध्ये एकजना म हुँ । मेरो कारणले केन्द्रीय गठबन्धनलाई असर गर्नुपर्ने कुनै कारण छैन ।’

प्रतिक्रिया दिनुहोस