बाबुराम भट्टराईलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण,- तपाईंलाई किन कारबाही गर्नु नपर्ने ?

काठमाडौं, ३० वैशाख। निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

स्थानीय तह निर्वाचनका लागि मतदान गर्ने क्रममा मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेको भन्दै डा. भट्टराईलाई आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

‘जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान गर्ने क्रममा मतसंकेत गरेको मतपत्र सार्वजनिक गर्नुभएको विषयप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको छ,’ आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको उक्त कसूरका सम्बन्धमा पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र स्पष्ट जवाफ पेस गर्न पत्राचार गरेको छ ।’

‘यहाँलाई मतदान गर्ने क्रममा मत संकेत गर्ने ठाउँमा कोही अर्को व्यक्तिलाई साथ लैजानु हुँदैन भन्ने जानकारी थियो, थिएन ? यहाँ देशको पूर्वप्रधानमन्त्री र जिम्मेवार दलको नेताले मत संकेत गर्ने गोप्य कक्षमा के कसरी कुनै अर्को फोटो खिच्ने व्यक्ति साथ लानुभएको थियो ? यहाँले मोबाइल वा क्यामेरा के कसरी गोप्य कक्षमा लानु भयो ?,’ आयोगले भट्टराईलाई सोधेको छ, ‘मत संकेत गर्ने गोप्य कक्षमा फोटो खिच्ने कुनै सामग्री लान नहुने र मत संकेत गरेको मतपत्रको फोटो खिच्न नहुने कानुनी व्यवस्थाको अवज्ञा गर्दै के कति कारणले निसिद्ध स्थानमा लान नमिल्ने सामग्रीमार्फत फोटो लिन लगाई सो फोटो सार्वजनिक गर्नु भएको हो ?’

प्रतिक्रिया दिनुहोस