भारतबाट घुम्न काठमाडौं आएका थिए, गाडीबाट ओर्लेको ५ मिनेटमै दुर्घटनामा ज्यान गुमाए

भारतबाट नेपाल घुम्न आएको एक परिवारमाथि काठमाडौं टेकेको पाँच मिनेटमै ठूलो बज्रपात भएको छ।

महाराष्ट्रको नागपुर, काम्पीबाट वीरगन्ज हुँदै नेपाल प्रवेश गरेको सात जनाको परिवार आइतबार दिउँसो साढे ११ बजे काठमाडौंको बल्खु आइपुगेको थियो।

वीरगन्जबाट टाटा सुमो चढेर काठमाडौं आएका उनीहरू बल्खुमा ओर्लेको पाँच मिनेटमै दुर्घटनामा परे।

परिवारका दुई जना सदस्य ३२ वर्षीया योगिता बन्सुर र उनका पाँच वर्षीय छोरा आयुषलाई बा१३च ६४१९ नम्बरको भ्यानले ठक्कर दियो।

दुवैलाई नजिकै बयोधा अस्पताल लगियो। उपचार क्रममा आयुषको मृत्यु भयो। योगिताको बायाँ खुट्टामा चोट लागेको छ। उनी आइसियूमा उपचाररत छिन्।

उनीहरू भारतको बोधगयासहित नेपालको लुम्बिनी र काठमाडौं घुम्न बुधबार महाराष्ट्रबाट निस्केका थिए।

nic
‘हामी बहिनी-ज्वाइँ, फूपु-भिनाजु र मेरो परिवारमा छोरासहित सात जना बोधगया, बुद्धको जन्मस्थल लुम्बिनी र काठमाडौं घुम्न आएका थियौं,’ योगिताका ३५ वर्षीय श्रीमान आश्विन बन्सुरले सेतोपाटीसँग भने, ‘हामी पहिलोपटक घरबाट यति टाढाको यात्रामा निस्केका थियौं।’

महाराष्ट्रबाट उनीहरू पहिला बोधगया गए। त्यहाँबाट रक्सौल हुँदै नेपाल छिरे। उनीहरूले आइतबार बिहानै वीरगन्जबाट काठमाडौं आउने सुमो चढेका थिए।

सुमोले बल्खुको तरकारी बजार जाने बाटोनिर झारिदिएको थियो। काठमाडौं ओर्लेपछि सबभन्दा पहिला होटल खोज्ने उनीहरूको योजना थियो।

‘हामीले गाडीबाट सामान झिक्यौं र हिँड्न थाल्यौं,’ आश्विनले भने, ‘योगिताले बाबु बोकेकी थिइन्। गाडीबाट केही पाइला अगाडि बढ्नेबित्तिकै एउटा भ्यान आएर ठक्कर दियो। दुवै आमाछोरा लडे। बाबुलाई गाडीले माथिबाटै किच्यो।’

ओरालो बाटोमा आइरहेको भ्यानले ब्रेक लगाउँदा लगाउँदै पनि नियन्त्रण गर्न नसकेको उनले बताए।

प्रतिक्रिया दिनुहोस