श्रीमान श्रीमती मिलेर यस्तो धन्दा , ३५ लाख हात पार्न खोज्दा प्रहरी खोरमा

काठमाडौंमा पति–पत्नीकै मिलेमतोमा हनि ट्रयापिङको धन्दा हुने गरेको थाहा भएको छ । त्यस्तो धन्दा चलाएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पति–पत्नीसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–६ घर भई बौद्ध बस्ने ३१ वर्षीया कल्पना बस्नेत, ३१ वर्षीय कृष्णहरि खड्का र भक्तपुरको बालकोट बस्ने २८ वर्षीय सञ्जय कार्की छन् । साउन १ मा पक्राउ परेका कल्पना र कृष्णहरि खड्का पति पत्नी हुन् ।

सामाजिक सञ्जालबाट केटीको फोटो प्रयोग गरेर पुरुषलाई खाजा खाने बहानामा रेष्टुरेण्टमा बोलाएर कल्पनाले भेट्ने गर्थिन् । भेटेपछि झूटा मुद्दा लगाएर ‘फसाउँछु’ भनेर तीनैजना मिलेर ब्ल्याकमेल गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

पुरुषलाई रकम तिर्न बाध्य गराउन सञ्जय कार्कीले नक्कली इन्स्पेक्टरको भूमिका खेल्ने गरेका थिए । पुरुषहरूलाई ‘म इन्स्पेक्टर हुँ’ भनेर उनले लेनदेन गरेर विवाद नमिलाएमा मुद्दा दर्ता गर्ने धम्की दिने गरेको अनुसन्धानबाट थाहा भएको अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।

पीडितको परिवारलाई साथी बनाएर उनीहरुले नक्कली निरीक्षकसँग कल्पनाले गरेको कुराकानीको अडियो पनि पठाउने गरेका थिए । आरोपीहरुलाई अपराधी लाभ लिन नहुने कसुरमा थप अनुसन्धान र कारवाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।

यस्तो थियो घटना –
काठमाडौंका २८ वर्षीय सुमन (नाम परिवर्तन) होलसेल व्यवसायी हुन् । पैसा उठाउन उनी हप्तैपिच्छे विभिन्न ठाउँका पसलमा गइराख्छन् । त्यही सिलसिलामा डेढ महिना अघि एक पसलमा उनको ३१ वर्षीया कल्पना बस्नेतसँग भेट भयो ।

सामान्य कुराकानीपछि सुमन र कल्पना सामाजिक सञ्जालमा पनि जोडिए । कुराकानी बाक्लिँदै जाँदा उनीहरुले खाजा खाजा एक होटलमा भेट्ने भए । ‘खाजा खान भेट्ने भएपछि सामान्य सोचेर गएको थिएँ’ सुमनले प्रहरी कहाँ बयान दिएका छन्, ‘खाजा खान थालेको केही समयपछि उहाँले टाउको दुख्यो, रेष्ट गर्नुपर्‍यो भन्नुभयो ।’

सुमनका अनुसार त्यति भनेर कल्पना रिसेप्सनमा चाबी मागेर होटलको एक कोठामा गइन् । सुमन पानीको बोतल लिएर पछि लागे । ‘पाँच मिनेटमै उहाँ बाहिर निस्किएर हिँड्नुभयो र मलाई जबरजस्ती गरेको आरोप लगाउनुभयो’ उनले भनेका छन् ।

त्यसपछि कल्पनाका श्रीमान् कृष्णहरि खड्काले पनि उनलाई भेटेर धम्क्याउन थाले । प्रहरी कहाँ जाने भन्दै बारम्बार धम्की दिन थालेपछि उनी आत्तिए, आफ्नो इजजत जाने भन्दै श्रीमान श्रीमतीलाई अनुनय विनय गर्न थाले ।आफूले केही नगरेको भन्दै उनले कल्पनाका श्रीमान्लाई पनि सम्झाउन खोजे ।

तर उनी मानेनन् । अन्तिममा ३५ लाख रुपैयाँ दिने भए उजुरी नहाल्ने कल्पनाले बताइन् ।त्यति रकम जुटाउन पनि सुमनलाई सहज थिएन । नजिकका साथीसँग सल्लाह गरिरहेका थिए । त्यहिबीचमा प्रहरी कार्यालयबाट अपराध अनुसन्धानको प्रहरी निरीक्षक (इन्स्पेक्टर) भन्दै सिन्धुलीका २८ वर्षीय सञ्जय कार्कीको उनलाई फोन आयो ।

प्रतिक्रिया दिनुहोस