जबराको तेस्रो दिनको बयान सकियो, अब एकमुष्ठ प्रश्न सोधिने

महाअभियोग सिफारिस समितिलाई जवाफ दिँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा । तस्बिरः शालिग्राम तिवारी

काठमाडौं– प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले तेस्रो दिन आइतबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जवाफ लिने क्रम सकिएको छ ।

बिहीबार सिंहदरवारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा निलम्बित प्रधानन्यायाधीश जबरासँग समितिले एक घण्टा जवाफ लिएको हो ।

आइतबार जबरासँग ५ वटा प्रश्न सोधिएको समिति सदस्य कांग्रेस सांसद मिन विश्वकर्माले जानकारी दिनुभयो । जबराले एक घण्टामै पाँचै वटा प्रश्नको उत्तर दिनुभएको थियो ।

विश्वकर्माका अनुसार अबको बैठक भदौ २५ गते बोलाइएको छ । आगामी बैठकमा समितिले तयार गरेका सबै प्रश्न एकमुष्ठ सोधिनेछ । ‘बयान लम्बिँदा धेरै आशंकाहरु उठ्नु स्वभाविक हो,’ उहाँले भन्नुभयो, ‘विधि परिवर्तन गर्दै अब एकमुष्ठ प्रश्न सोधिनेछन् । त्यसको उत्तर उहाँले दिनुहुनेछ ।’

आइतबारको बैठकमा पूर्वडीआईजी रञ्जन कोइरालाको ज्यानमुद्दामा कैद समय घटाइएको लगायतको प्रश्न गरिएको थियो ।

जबराविरुद्ध २०७८ फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस