सन्दीप लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता, १०-१२ वर्षसम्म कैद सजाय माग

काठमाडौं । नाबालिगमाथि बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरूद्ध मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालयले आज काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो । अभियोगपत्रमा १०-१२ वर्ष कैद सजाय माग गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले अनुसन्धान सकेर कात्तिक ४ गते सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर लगत्तै तिहार सुरु भएकाले मुद्दा दर्ता हुन सकेको थिएन । तिहार र छठ सकिएसँगै अभियोगपत्र दायर गरिएको हो ।

आज अभियोगपत्र बुझाएसँगै भोलि गोलाप्रथाबाट कुन न्यायाधीशकोमा मुद्दा पर्ने थाहा हुन्छ । त्यसपछि प्रतिवादीको बयान हुन्छ र थुनछेक बहस सुरु हुने जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिए ।

भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लामिछानेमाथि लागेको थियो । घटना भएको भोलिपल्टै क्रिकेट खेल्न गएका उनी गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस