अस्पताल भन्छ– ‘नाटक गरेको हुन सक्छ’ विष सेवन भएको छैन ।

काठमाडौं । पछिल्लो समय निकै सामाजिक सञ्जालमा भाइरल बनेकी शर्मिला वाइबाले बिहीबार विष सेवन गरेर वीर अस्पताल भर्ना भएको खबर बाहिरिएपछि त झनै तातिरहेको छ– सामाजिक सञ्जाल । तर, सामाजिक सञ्जालमा शर्मिलाले विष नै सेवन गरेर आत्महत्याको प्रयास गरेको भनिए पनि अस्पतालले भने अहिलेसम्म त्यो पुष्टि गरेको छैन ।

अस्पताल स्रोतका अनुसार शर्मिला विषय सेवन गरिएको भन्ने घटना शंकास्पद देखिएको छ । किनकि वीर अस्पतालमा गरिएको शारीरिक परीक्षणमा विष सेवनको पुष्टि भएको छैन ।

बाहिर बुधबार राति करिब १ बजेतिर विष सेवन गरेकी शर्मिलालाई उपचारका लागि वीर पुर्याइएको भनिएको छ । क्रिटिकल अवस्थामा रहेकी उनलाई अस्पताल पुर्याएर तत्काल आइसीयूमा भर्ना गरिएको भनिएको पनि छ । तर, अस्पताल स्रोतले बताएअनुसार शर्मिलालाई अस्पताल पुर्याउँदा उनी होसमै थिइन्, अब्जरभेसनका लागि मात्र आइसीयूमा भर्ना गरिएको हो ।

अस्पताल भर्ना गरिएको केही समयपछि शर्मिलाको रगतमा विषको मात्रा कति प्रतिशत छ भन्ने परीक्षण गर्न रगत टिचिङ अस्पताल लगिएको थियो । तर, परीक्षणमा रगतमा विषको मात्रा केही नदेखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पताल स्रोत यो पनि भन्छ कि कहिलेकाहीँ विषको असर ढिला पनि देखिन्छ र अहिल्यै निष्कर्षमा पुग्नु छिटो हुन्छ । तैपनि अहिलेसम्म शर्मिलाले विष सेवन गरेको हो भनेर अस्पतालले पुष्टि भने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस