गगनले पनि गरे सरकारको विरोध : अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय गलत छ, रोक्नुपर्छ

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णयको विरोध गरेका छन् । बिहीबार सामाजिक सञ्जाल मार्फत सरकारको उक्त निर्णयको विरोध गरेका हुन् ।

राज्य कोषमा स्रोतको व्यापक दबाब परेका बेला लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय गलत भएको भन्दै थापाले निर्णय रोक्नुपर्ने बताएका हुन् । उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेकाले रकम बाँड्ने भन्दा पनि कानुन बनाएर टुङ्ग्याउनुपर्ने उनको धारणा छ ।

‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ,रोक्नुपर्छ,’ उनले भनेका छन्, ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेकोले सरकार रकम बाँड्न होइन पीडितमैत्री कानुन बनाई संक्रमणकालीन न्यायको कामलाई शीघ्र टुङ्ग्याउन केन्द्रित होस् ।’

सरकारले शान्ति प्रक्रियाको १८ वर्ष बितेपछि सशस्त्र द्वन्द्वकालका माओवादी ‘अयोग्य लडाकु’लाई राहत वितरण गर्ने तयारी गरेको छ । गत बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयबमोजिम गृह मन्त्रालयले अयोग्य लडाकुहरूलाई राहत वितरण गर्ने गरी ‘सशस्त्र द्वन्द्वका अयोग्य लडाकुहरूलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७९’ तयार गरी जारी गरेको थियो ।

कार्यविधिबमोजिम प्रक्रिया पुगेका अयोग्य लडाकुहरूले प्रति लडाकु दुई लाख रुपैयाँ राहत रकम पाउनेछन्। सरकारको यो निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस