बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेसले भन्यो- दोषी ठहर भइसक्नुभएको होइन,अनुसन्धान निष्पक्ष होस्

वैशाख , काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि निष्पक्ष छानबिन र अनुसन्धानको माग गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज साँझ बसेको पार्टीका शीर्ष नेताहरूको बैठकपछि प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले पार्टीका नेता बालकृष्ण खाँण भुटानी शरणार्थी प्रकरणमा आरोपितका रुपमा रहेको र उनीमाथि अनुसन्धान भइरहेको बताए ।

खाँण फरार हुनुभएको नभएर प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताउदैँ महतले भने, यो भनेको उहाँ दोषी ठहर भइसक्नुभएको होइन, हाम्रो बैठक आकस्मिक होइन । हामी पार्टीका भ्रातृ संगठनका विषयमा छलफल गर्न पहिल्यै बैठक बस्ने तयारी थियौँ । यद्यपि बैठकमा उहाँ पक्राउ पर्नुभएको विषयमा छलफल भयो । यो विषयमा हाम्रो भनाइ यत्ति हो कि उहाँमाथि निष्पक्ष अनुसन्धान हुनुपर्छ । यो मुद्दामा जो पनि दोषी छन् दोषीलाई कारबाही र निर्दोषलाई न्याय मिल्नुपर्छ ।

उनले खाँण पक्राउ पर्नु र पार्टीको बैठक बस्नु संयोगमात्रै भएको दाबी गरे । प्रवक्ता महतले बैठकमा त्यसबारे सामान्य छलफल भए पनि पार्टीमा निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा कुनै छलफल नभएको बताए ।

शरणार्थी प्रकरणमा उहाँलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । उहाँले आफैं अनुसन्धानमा सहयोग पुर्‍याउँछु भन्नुभएको छ, महतले भने, ‘पहिले अनुसन्धान होस् त्यसपछि उहाँ दोषी ठहर भएको अवस्थामा हामीले पार्टीमा राखिराख्नु नै पर्दैन ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । बुधबार नै उनका स्वकीय सचिव नरेन्द्र केसीसमेत पक्राउ परेका छन् ।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए ।आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।

प्रतिक्रिया दिनुहोस