श्रोत नखुलेको रकमसहित भारतीय मोटरसाइकल प्रहरीको नियन्त्रणमा

सर्लाही- सशस्त्र प्रहरीले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ । सर्लाही जिल्ला मलंगवा नगरपालिका ८ स्थित भन्सार इलाकाबाट शनिबार प्रहरीले बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको एक हजार रुपैयाँको ७०० थान र पाँच सय रुपैयाँको २०० थान नेपाली रुपैयाँसहित मोटरसाइकल सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको नेपाली रुपैयाँ र मोटरसाइकल आवश्यक कारबाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रहरीले जनाएको छ ।

यसै गरी सोही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ स्थित सखुअवाबाट २० के.जी गाँजासहित एउटा भारतीय मोटरसाइकल वैशाख ३१ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिआर ३० डी ५८८५ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको ४ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल विओपी सखुअवाले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीलाई देख्नासाथै मोटरसाइकल सोही ठाउँमा छाडी व्यक्ति भने फरार भएका थिए । नियन्त्रणमा लिएको गाँजा र मोटरसाइकल आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस