भूमिहीनको खुशी: ‘थोरै भए पनि आफ्नै नाममा हुने भयो’

तुलसीपुर । तुलसीपुर–६ गौरीडाँडास्थित बृद्ध दम्पती ७९ वर्षीय तुलसीराम दमाई र ७० वर्षीया सुन्तली दमाईको सानो घर छ । त्यही घरको पछाडिपट्टी उहाँहरुले भोगचलन गर्दै आएको करिब १२÷१३ धुर जग्गा छ, जो ऐलानी हो । यतिबेला बृद्ध दम्पतीको सुकुम्बासी परिवारमा खुशीको सीमा छैन । किनभने अब उहाँहरुको परिचय बदलिंदैछ ।

अहिलेसम्म सुकुम्बासी जीवन बिताएको यो दम्पतीले अब आफूले जोतभोग गर्दै आएको ऐलानी जग्गाको पूर्जा पाउने भएको छ । यो कुराले तुलसीरामको अनुहार उज्यालिएको छ । हर्षित मुद्रामा उहाँ सुनाउनुहुन्छ– ‘म धेरै कुरा त थाहा पान्न तर असाध्यै खुशी लागेको छ । आजसम्म भोगचलन गरेको जग्गा थोरै भए पनि आफ्नै नाममा हुने भयो । अब हाम्रो जग्गा पनि लम्बरी हुने भयो रे !’

यो खुशी दमाई दम्पतीको मात्रै होइन, तुलसीपुर उपमहानगरपालिकाले लगत प्रविष्टि लिएका दुई हजार ७९, भूमिहीन दलित र दुई हजार आठ सय ९२ भूमिहीन सुकुम्बासीको पनि हो । तुलसीपुर उपमहानगरपालिकामा राष्ट्रिय भूमि आयोगले तुलसीपुर–६ को राजापुरबाट मंगलबारदेखि नापजाँचको काम शुरु गरेको छ ।

राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष तथा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लेखराज रेग्मीले कतिपय कानुनी कुराहरु बाझिएका कारण पनि सुकुम्बासी समस्या समाधानमा उल्झन हुने बताउनुभयो ।

‘वन क्षेत्रबाट छुट्टिएको १० वर्षभन्दा बढी भोगचलन भएको जग्गा नाप्ने अधिकार छ, आयोगलाई तर वन ऐनले वनसँग जोडिएको पर्तिऐलानी जग्गा पनि वन नै हो, भनेर लेखेको छ । यही जग्गामा राज्यका अन्य निकायले बिजुली, खानेपानीलगायतका सेवा प्रवाह गरेका छन् । ती जग्गा सम्बन्धित व्यक्तिलाई त दिनुप¥यो नि ? ’– उहाँले भन्नुभयो– ‘नदी उकास क्षेत्रको कुरा पनि त्यस्तै छ ।

भोगचलन भइरहेको नदी उकास क्षेत्र नाप्ने भनेको छ तर २०२६ सालको नापीले खोला÷नदी आसपासको खुलादेखिएको सबैभाग खोला भनेर लेख्दियो । अब खोला÷नदी क्षेत्र र उकास क्षेत्र कसरी छुट्याउने ?  त्यसकारण यस्ता कुराहरु स्थानीय सरकारमार्फत नै समाधान गर्ने हो ।’ अध्यक्ष रेग्मीका अनुसार जिल्लाका अधिकांश पालिकाहरुमा भूमिसम्बन्धी नाँपजाँचको काम शुरु भएको र राप्ती गाउँपालिकामा अन्तिम चरणमा पुगेको छ । पालिकाबाटै नापजाँचको अन्तिम प्रक्रिया हुने भएकाले नापजाँचका क्रममा सहयोग गर्न उहाँले आग्रहसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस