प्रधानमन्त्रीलाई ‘भैसी चढेर आएको’ भनेपछि संसद्‍मा हंगामा, शब्द ‘रेकर्ड’बाट हटाउन सभामुखको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री भारतबाट ‘भैँसी चढेर आएको’ चर्चा भइरहेको बताएपछि संसद्‍मा हंगामा भएको छ ।

रास्वपाका सांसद खनालले भारत भ्रमणबाट फर्किँदा प्रधानमन्त्री प्रचण्ड भैँसी चढेर आएको चर्चा भइरहेको बताएका थिए । खनालले यसो भनिरहँदा माओवादीले सांसदहरूले उठेर विरोध गरेका छन् ।

त्यसपछि सभामुखले माओवादी हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । पाण्डेले नियमापत्ति जनाउँदा अशिष्ट र अमर्यादित शब्द हटाउन माग गरेका हुन् ।

उनलाई समय दिएपछि एमाले सांसदहरूले उठेर विरोध गरेका थिए । प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समयमा सत्ता पक्षका सांसदले अवरोध गरेको भन्दै एमालेका सांसद योगेश भट्टराई, सूर्य थापासहितले निरन्तर हंगामा गरेका हुन् ।

एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डले नै भैँसी चढेको विषय उल्लेख गरेको बताए ।
खनालले बोलेको ‘भैँसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस