बल्छी धुर्बे, राजु मास्टर, म्याकुरी, भटभटे माइला, एलिस राईसहित थुप्रै कलाकार पक्राउ

काठमाडौं । अनलाइन सट्टेबाजीको प्रचारप्रसार गरेको आरोपमा चर्चित कलाकारहरु पक्राउ परेका छन् । उनीहरुमाथि अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोप छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई बुधबार पक्राउ गरिएको जानकारी दिएको छ ।

यसरी पक्राउ परेका कलाकारहरुसहितका व्यक्तिहरुमा मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’, राजु पौडेल ‘राजु मास्टर’, पवन खतिवडा ‘म्याकुरी’, एलिस राई, ज्वलन घर्ती मगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगमन नेपाली रहेका छन् ।

अहिले पक्राउ परेका कलाकारहरुमध्ये केही निकै चर्चित मान्छिन् । उनीहरुका युट्युब च्यानलमा धेरै सब्सक्राइबरहरु छन् । उनीहरुले अहिले पनि धेरै सिरियलहरु निर्माण गरिरहेका छन् । उनीहरुका टेलिसिरियलहरु पनि निकै लोकप्रिय छन् । उनीहरुले तिनै सिरियलहरुका भिडियोहरुसहित आफूले अपलोड गरेका भिडियोहरुमा बेटिङ प्लेटफर्मको प्रचारप्रसार गरेका थिए ।

उनीहरुले अपलोड गरेका केही भिडियोमा आफ्नो प्रोमो कोड प्रयोग गरे बेटिङ एपहरुमा धेरै बोनस वा छुट पाउन सकिने भन्दै प्रचारप्रसार गरिएको छ । तर, नेपालमा यी एप र प्लेटफर्महरु प्रतिबन्धित छन् । यी एपमा नेपाली सट्टेबाजले पैसा भुक्तानी गर्दा पनि वैधानिक बाटो अपनाउँदैनन् । त्यसैले यसलाई मनी लन्ड्रिङ अन्तर्गतको कसूर पनि मान्न सकिने अवस्था छ ।

प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो । प्रहरीले उनीहरुमाथि कुन कुन कसूर अन्तर्गत मुद्दा दर्ता गर्दैछ भन्ने स्पष्ट भइसकेको छैन । यद्यपि यसमा मुलुकी अपराध संहिताको धारा १२५ अन्तर्गत जुवा खेलेको वा सट्टेबाजी गरेको सँगै भुक्तानीमा वैधानिक बाटो प्रयोग नगरिएको हुँदा मनी लन्ड्रिङसम्मको कसूर आकर्षित हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस