”फिरफिरे बनाउन दाइले बोलाउनु भएको छ गएर आइहाल्छु है ममी” भनेर निस्केका थिए हर्षित

स्याङ्जा- फिरफिरे बनाउन भनेर निस्केका हर्षित देवकोटा त्यो फिरफिरे लिएर घर कहिल्यै नफर्कने गरी बिदा भएका छन् ।

”फिरफिरे बनाउन जाम भनेर दाइले बोलाउनु भएको छ म गएर आइहाल्छु हाई ममी” भनेर घरबाट निस्केका हर्षितलाई सोही स्थानका २२ वर्षीय सुजन सुवेदी भन्ने काल बनेर उपस्थित भएका छन् ।

आमालाई रातिसम्म पनि विश्वास लागेको थिएन कति बेला फिरफिरे लिएर बाबु आउँछ भनेर कुरिरहेकी थिइन् । तर छोराको शव छियाछिया पारेर हत्या गरिएको अवस्थामा भेटिएपछि परिवारको खुसी क्षणभरमै सधैँका लागि अस्ताएको छ ।

हर्षितको हत्या गरेर गाउँबाट भागेका सुवेदीलाई प्रहरीले स्याङ्जा बजार काट्न नपाउँदै पक्राउ गर्न सफल भयो । प्रारम्भिक अनुसन्धानको क्रममा सुवेदीले बालकको हत्या गरेको स्वीकारेका छन् । प्रहरीका अनुसार हर्षितलाई सुवेदीले पटक पटक टाउकोमा हँसिया प्रहार गरेको र भिर बाट लडाएर हत्या गरेको स्वीकार गरेका हुन्।

गाउँको स्कुलमा कक्षा ५ मा पढ्ने गाउँ भरिकै सरल र ज्ञानी हर्षित स्याङ्जा अर्जुन चौपारि गाउँपालिका वडा न.६ सिउडबारिका बुवा शोभाखर देवकोटा र आमा मिना देवकोटाको कोखबाट जन्मेका एक मात्र छोरा थिए ।

प्रतिक्रिया दिनुहोस