किशोरीको मृत्यु शंकास्पद भएको परिवारको दाबी, छानबिन गर्न माग

नकुटा देब्रेवासकी एक किशोरीको मृत्यु शंकास्पद भएको जनाउँदै परिवारजनले छानबिन गर्न माग गरेका छन्।
बिज्ञापन

देब्रेवास वडा नं. ४ की १९ वर्षे परिना (प्रिसकिला) तामाङ्को वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार उपचारका क्रममा मृत्यु भएसँगै परिवारजनले छानबिन गर्न माग गरेका हुन्।
बिज्ञापन

घटनाक्रम अनुसार जेठ २६ गते परिना देब्रेवासबाट इटहरी तरकारी बोक्ने भारतीय नम्बरको गाडीमा चढेर आएकी थिइन्। उनी चढेको गाडी धनकुटा वडा नं. ९ बीच सडकमा पल्टिएको अवस्थामा फेला परेको थियो। सो क्रममा परिनासहित तीन जना घाइते अवस्थामा भेटिएका थिए।

प्रहरीले सिकिस्त अवस्थामा भेटिएकी परिनालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठायो। उनको ११ औँ दिनका दिन मृत्यु हुन पुग्यो। अन्य दुई जनाको धनकुटामै उपचार भएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरी रहेको छ।

‘गाडी बीच बाटोमा अचम्म ढंगले पल्टिएको छ। यदि दुर्घटना नै हुँदा पनि साइडमा पल्टिनु पर्ने वा ओरालोमा तल खस्नुपर्ने हो,’ परिनाका आफन्त गौरी लामाले भने, ‘हाम्रो नानीमाथि युवाहरुको समूहले जर्वरजस्ती गरेको हुनुपर्छ।’ यस घटनालाई प्रहरीले गम्भीर रुपमा लिएर छानबिन गर्नुपर्ने उनले बताए।

‘दुर्घटना मात्र हुँदा शरीरमा चिथोरेको डाम हुँदैन,’ उनले भने, ‘जर्वरजस्ती करणीपछि हुइँकाउँदा पछाडि पट्टी खप्पर फुट्यो अनि नाटक गरेर गाडी बीच बाटोमै पल्टाए।’ लामाले परिना सिकिस्त भएर आइसियुमा उपचार गराउँदा गराउँदै मृत्यु भएकाले गर्दा केही सोध्न नपाएकाले पनि छानबिन गर्नुपर्ने बताए।

प्रहरीले पनि दुर्घटनापछि घटना शंकास्पद लागेर चेकजाँच गर्दा गाडीमा १२४ केजी तयारी गाँजा फेला पारेको थियो। ‘झट्ट हेर्दा गाडी अनियन्त्रित भएर पल्टिएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी नरेन्द्र कुवरले भने, ‘दुर्घटनापछि शंकास्पद लागेर गाडीमा खोजतलासी गर्दा १२४ केजी गाँजा फेला पार्‍यौँ।’

मृतक किशोरीमाथि जर्वरजस्ती भएको भनेर परिवारका सदस्यले दाबी गरे पनि त्यो अनुसन्धानबाट क्लियर हुने डिएसपी कुवरले बताए।

जिल्ला प्रहरी कार्यालय धनकुटाले मोरङ जहादाका अजय मलाहा र सुरेश मुखियालाई नियन्त्रणमा लिएर अनुसन्धान गरी रहेको छ। अन्य दुई जना फरार भएकाले गर्दा खोजतलास भइरहेको डिएसपी कुवरले बताए।

प्रतिक्रिया दिनुहोस