बसाइँ सरी गाउँ आउनेलाई नगद, दुहुनो गाई र घर दिनेसम्मका घोषणा

असार, काठमाडौं । स्थानीय तहहरुले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा बसाइँसराई रोक्न विभिन्न कार्यक्रम ल्याएका छन् । पहाडी पालिकाहरुले आफ्नो स्थानीय तहमा बसाईँसराई आउनेलाई आकर्षक योजना समेत अगाड सारेका छन् । स्थानीय तहरुले बसाइँ सरेर आउने परिवारलाई दुहुनो गाईदेखि घर दिनेसम्मसम्मका योजना ल्याएका छन् ।

नेपालको जनसंख्या २०७८ को जनगणना अनुसार ३४ वटा जिल्लाको जनसंख्या २०६८ सालमा भन्दा पनि कम (जनसंख्याको ऋणात्मक वृद्धिदर) देखिएको थियो । जनसंख्या वृद्धि ऋणात्मक हुने जिल्लामा अधिकांश पहाडी र हिमाली जिल्ला छन् ।

तराईका समथर जिल्ला, संघीय र प्रदेश राजधानी रहेका पहाडी जिल्लामा जनसंख्या वृद्धि उच्च देखिएको छ । जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक हुने पाँच जिल्लाहरुमा रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम छन् ।

सबैभन्दा बढी रामेछापमा वार्षिक जनसंख्या वृद्धिदर माइनस १.६७ प्रतिशत छ । खोटाङमा माइनस १.५६, मनाङ र भोजपुरमा समान माइनस १.३९ तथा तेह्रथुममा माइनस १.३० प्रतिशत छ । जनसंख्या घट्ने क्रम कम कम गर्न स्थानीय तहरुले विभिन्न कार्यक्रम लयाउन थालेका छन् ।

राक्सिराङले घर दिने

मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउनेलाई आगामी वर्षबाट घर दिने जनाएका छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँ सरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गरिने उल्लेख रहेको छ ।

गाउँपालिकाले दिने घर कस्तो हुने भन्ने विषयमा कार्यविधिमा उल्लेख गर्ने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । ‘मकवानपुरकै विकट गाउँपालिकाको रुपमा हाम्रो पालिका छ, यहाँका मानिसहरु घरबारी छोडेर सहर झरिरहेका छन् । यो रोक्ने र नयाँ आउनेलाई सुविधा दिने उद्देश्यले बजेटमा यस्तो कार्यक्रम ल्याएका हौं,’ गाउँपालिका अध्यक्ष मल्लले भने ।

सनुकोशीमा दुहुनो गाई

ओखलढुंङ्गाको सुनकोशी गाउँपालिका बसाइँ सरी आउनेलाई दुहुनो गाई उपहार दिने भएको छ । गाउँपालिकाको बजेटमा बसाइँ सरेर आउने परिवारलाई ३० हजार बराबरको दुहुनो गाई उपहार दिने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस