छातीमा आफ्नो तस्बिरको ट्याटु खोपाएका युवक मलेसियामा बितेपछि भावुक भए रवि

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएका जुम्लाका मयलाल परियारको शव नेपाल ल्याउन पहल गरिरहेको बताएका छन्।

जुम्लाको हिमा गाउँपालिकामा पर्ने देवर गाउँका परियारको शव झन्डै एक हप्तादेखि मलेसियामा अलपत्र छ। आफ्नो छातीको ट्याटुमा रवि लामिछानेको चित्र खोपाएका उनको शव मलेसियामा अलपत्र परेको भनी सामाजिक सञ्जालमार्फत शव नेपाल ल्याउन हारगुहार गरिएपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछानेले यसका लागि पहल सुरु गरिसकेको जानकारी दिएका हुन्।

सार्वजनिक स्टाटसको स्क्रिनसट राख्दै रविले सामाजिक सञ्जालमै लेखेका छन्, ‘सामाजिक सञ्जालमार्फत यो म्यासेजसहितको स्क्रिन सटमा मेरो ध्यानाकर्षण भयो। मयलाल परियारजी, देशमा नै बस्ने वातावरण बनाउन हामी लड्दै गर्दा तपाईं मलेसियामा अस्ताउनुभयो। तपाईंले यो संसारलाई महसुस गर्दा तपाईं र मेरो भेट भएन।अब तपाईं केही महसुस गर्न नसक्ने अवस्थामा पुग्नु भयो।

तर तपाईंलाई देशले स्पर्श गर्नैपर्छ। तपाईंको पार्थिव शरीरलाई नेपाल ल्याउन म समन्वय गरिरहेको छु। परिवारसँग पनि कुरा गरेँ। राजदूतावास सँग पनि कुरा गरेँ। पेटको कुनै खराबीले मृत्यु भएको प्रारम्भिक खबर दूतावासले गराए पनि पोस्टमार्टम लागायतको प्रक्रियाले केही दिन लाग्नसक्ला। सबै प्रक्रिया मिलाएर जतिसक्दो छिटो नेपाल ल्याउने पहलमा आफैँ लागेको छु।’

मयलाल परियार र उनको छातीमा रविको तस्बिरसहितको ट्याटु

परियार आफूलाई धेरै माया गर्ने व्यक्ति भन्ने थाहा पाएपछि रवि भावुक भएका छन्।उनले लेखेका छन्, ‘तपाईंको छातीको ट्याटुले मेरो छाती छियाछिया भएको छ। म यो पीडालाई शक्तिमा बदलेरै छाड्छु। तपाईंको, मेरो र हाम्रो सपनालाई मरे पनि मर्न दिन्नँ। परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।’
राजनीतिमार्फत उनीजस्ता लाखौँ युवालाई स्वदेशमै बस्ने वातावरण बनाउन केही गर्न सकेको खण्डमा मात्र परियारप्रति साँचो अर्थमा श्रद्धाञ्जली दिएको ठहर्ने पनि लामिछानेले उल्लेख गरेका छन्। उनले प्रतिबद्धता व्यक्त गर्दै भनेका छन्, ‘तपाईंले ममाथि देखाउनुभएको माया र विश्वास कम्तीमा तपाईंकी ११ वर्षीया छोरीले महसुस गर्नेगरी यो देशको सेवा गर्ने छु।’

प्रतिक्रिया दिनुहोस